अतिवादलाई नियन्त्रण गर्ने प्रचण्डको चेतावनी

66

काठमाडौं / आमूल रूपान्तरणका लागि सशस्त्र युद्धको थालनी गरेर दश वर्षसम्म १७ हजार नेपाली जनतालाई बलिदानीका निम्ति लामबद्ध गराउन सफल भएका पुष्पकमल दाहाल प्रचण्डले अतिवादलाई नियन्त्रण गर्न सरकार गम्भीर रूपले लाग्ने चेतावनी दिएका छन् ।

देशमा रूपान्तरण कति भयो ? जनताले रूपान्तरणको महसुस गर्न पाएका छन् कि छैनन् ? यस्ता प्रश्नहरूतर्फ कुनै चासो नराखेर केवल अतिवादको विरोधको नाममा आमूल रूपान्तरणको चाहनामा आन्दोलित हुन चाहने नेपाली जनतालाई आतंकित बनाउने खालका अभिव्यक्तिहरू प्रचण्डबाट आउन थालेपछि प्रचण्डले राजनीतिक रूपमा वर्ग परिवर्तन गरिसकेको स्पष्ट हुने संकेत हुन्छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका र उनकै पार्टीको नेतृत्वमा दुईतिहाइ बहुमतको सरकारसमेत रहेका बेला कथित अतिवादलाई नियन्त्रण गर्ने अहंकारयुक्त सामन्तवादीशैलीको अभिव्यक्ति प्रचण्डबाट आउनुलाई सामान्य रूपमा लिन सकिंदैन । उनको यो अभिव्यक्तिमा साम्राज्यवाद, विस्तारवादको स्पष्ट चाहना अभिव्यक्त भएको विश्लेषकहरूले टिप्पणी गरेका छन् । गत सोमबार विराटनगरमा आयोजित पत्रकार भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले दुईतिहाइको वामपन्थीको सरकार भएका बेला यसको विरोधमा लाग्नेहरू राजनीतिक शक्ति नभई अतिवादी भएको आरोप लगाए । विप्लव नेतृत्वको नेकपाले अर्को माओवादी जन्मन्छ भनेर भनिरहेको छ नि ! भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले यस्तो जवाफ दिएका थिए । राज्यले विप्लव नेतृत्वको नेकपाले उठाएका विषयलाई गम्भीर रूपमा लिएको र लिनुपर्ने भन्दै उनले राजनीतिक रूपमा सहमतिमा आउने हदसम्म सरकारले प्रयास गर्ने पनि जनाए । यस्तै अभिव्यक्ति पञ्चायतकालका शासकहरू र पछि सत्तासीन हुन पुगेका कांग्रेस र एमालेहरूले पनि दिने गर्दथे ।

अध्यक्ष प्रचण्डले आफूहरूले क्यान्टोनमेन्ट बाहिर रहेका हतियारको जिम्मा लिन नसक्ने पनि सोही क्रममा जनाए । शान्ति प्रक्रियामा तपाईंहरूले बुझाएका हतियार अहिले निस्कन थाले नि भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै उनले आफूहरूले हतियार बुझाएको नभइ हतियारको व्यवस्थापन र सेनाको समायोजन गरेको जवाफ दिएका थिए । ‘क्यान्टोनमेन्टमा भएका हतियार व्यवस्थापन गरेको हो, बुझाएको भन्ने शब्द होइन, सहमतिका आधारमा हतियारको व्यवस्थापन र सेनाको संमायोजन गरेको हो ।’ प्रचण्डले भनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here