भ्रष्टाचार संस्कार मात्र होइन आदर्श परम्परा बन्ने लक्षण देखिदैछ

207
Nisha Tamang

-निशा तामाङ
हामीहरुले सुन्दै आएको भ्रष्टाचार भन्ने शब्दको परिभाषा गरिरहनु पर्छ जस्तो लाग्दैन । यो कुनै नौलो शब्द होइन । सामान्य अर्थमा बुझ्दा भ्रष्टाचार कानुन विरुद्ध नैतिक पतन हुने कामलाई बुझिन्छ । तर जति शब्दको अर्थमा भ्रष्टाचारबारे बुझिन्छ त्यो भन्दा विकराल रुप यसको रहेको छ । नेपालमा अहिले पनि उच्च पदमा हुनेहरुले भ्रष्टाचारलाई प्रश्रय दिने, भ्रष्टाचारीलाई कारबाही हुनबाट जोगाउने र शक्तिमा हुनेलाई कारबाही गर्दा भ्रष्टाचार विकराल रुपमा बढ्दै गएको पाइन्छ । हालै मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घूस प्रकरणबाटै यो सावित भएको छ कि नेपालमा भ्रष्टाचार मौलाउनुको प्रमुख कारण ठूलो ओहदामा बस्नेबाटै हुने गरेको छ ।

अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकको घूस प्रकरणलाई लिएर भिडियो खिच्ने समूहलाईसमेत पक्राउ गरी भिडियो नष्ट गर्न दबाब दिइनु र पटक–पटक धम्क्याउनु भ्रष्टाचारलाई प्रश्रय दिएको र कारवाहीको दायरामा ल्याउन नचाहेको भन्ने बुझिन्छ । यस्तो काममा सरकारमा पदासिन व्यक्तित्वहरु नै लागेको पुष्टि भइसक्दा पनि यिनलाई कारवाही गर्ने कुनै निकाय देखिएन ।

पाठकको राजीनामासंगै अख्तियारबाट हुन थालेको अनुसन्धानमा थप अरु–अरु उच्च ओहदाका पदस्थ व्यक्तिहरु पक्राउ पर्दै गएको खुलेको छ । यसै प्रकरणमा भर्खरै मात्र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहको नामसमेत जोडिएको एउटा घटना खुलासा भएको छ । पाठकले आफूले घूस लिएको स्वीकारेको भिडियो खिचिएको थाहा पाएपछि महाशाखा प्रमुख सिंहलाई प्रयोग गरेर भिडियो खिच्ने ज्ञानेन्द्र झा र ध्वजमान मोक्तानलाई धरपकड र पक्राउ गरेको खुलेको छ । अपराध अनुसन्धान गर्ने निकायबाटै भइरहेका यस्ता गलत गतिविधिहरु नियन्त्रण कसले गर्ने ? राज्यले यस्ता अपराधीहरुलाई संरक्षण गरेपछि जनस्तरबाट विद्रोह जन्मनु स्वाभाविक हुन जान्छ ।

अख्तियारका तत्कालीन आयुक्त पाठकले चाँगुनारायाण भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद सल्टाउन ७८ लाख घुस लिएका थिए । घुस लिएको विषय सार्वजनिक भएपछि उनले फागुन ३ गते पदबाट राजीनामा दिइसकेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महाभियोग लगाउने तयारी गरेपछि पाठकले राजीनामा बुझाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट बर्खास्त भइसकेका पाठकविरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ ।

भोगविलासले लिप्त मानिस खुसी र सुखी जिवन बिताउनकै लागि अथाह धन सम्पति आर्जन गर्ने सपना देख्न थाल्दछन् र गैरकानुनी काम गर्न पनि पछि पर्दैनन् । मानिसहरु भौतिक बिलासितामा रमाउँदै आफ्नो उच्च पदको दुरुपयोग गर्दै गैरकानुनी काम गर्न तयार हुनाले नै देशमा भ्रष्टाचार मौलाउँदै गएको र यिनै भ्रष्टाचारका कारक तत्व हुन् भनेर सावित भएको छ । उच्च पदस्थहरुले आफ्नो नैतिक जिम्मेवारी के हो भन्ने कुरा भुलेर सामाजिक मर्यादा बिपरित व्यक्तिगत लाभ हुने र नातावाद, कृपावादलाई अंगिकार गरी काम गर्ने र सरकारले कुनै कठोर कदम नबढाउनाले नै भ्रष्टाचार फस्टाउदै गएको बुझ्न सकिन्छ ।

दुई तिहाई बहुमतको केपी ओलीे नेतृत्वको सरकार स्थापना भएको पनि एक वर्ष पूरा भइसकेको छ । तर पनि भ्रष्टाचार कम हुने लक्षण देखिदैन । ओली नेतृत्वको नयाँसरकार निर्माण पश्चात झन झन भ्रष्टाचार बढ्दै गएको छ । वाइडबडी, एनसेल कर प्रकरण तथा पाठक घुुस प्रकरण काण्ड त यसका केही उदाहरण मात्र हुन् ।

केही साता अघि मात्रै प्रधानमन्त्री केपी ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्पका साथ अघि बढेको दाबी गर्नुभएको थियो । तर संकल्प संकल्पमै सिमित भएजस्तो देखियो । भ्रष्टाचार नियन्त्रण गर्न भ्रष्टाचार गर्नेहरुलाई नियन्त्रण मात्र गरेर हुँदैन । भ्रष्टाचार गर्नेहरुलाई सही मात्रामा कारवाही अगाडि बढाउन सक्नुपर्छ ।

भ्रष्टाचार ढाकछोप गर्ने संस्कार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारका कारण आदर्श र सदाचारयुक्त समाज प्रदुषित भएको भावना व्यक्त गर्नुभएको थियो । तर हालको अवस्थामा भ्रष्टाचार यतिसम्म बढ्दै गएको छ कि यसलाई ढाकछोप गर्न जरुरी नै छैन । खुल्ला रुपमा भ्रष्टाचार भइरहेको छ र सरकारी निकाय नै भ्रष्टाचारमा संलग्न भएका उदाहरण सार्वजनिक भइरहेका छन् । तर वर्तमान सरकार यसबारे केही कठोर कदम अगाडि बढाउने पक्षमा देखिदैन । यसरी त समाजमा भ्रष्टाचार संस्कार मात्र होइन यसले आदर्श परम्पराको रुप लिने डरलाग्दो अवस्था आउने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here