नेपाली महिला फुटबल टोली साफ फुटबल च्याम्पियनसीपमा

402

विराटनगर / पाँचौं महिला साफ फुटबल च्याम्पियनसीप यहि फागुन २८ गतेदेखि चैत ८ गतेसम्म विराटनगरमा आयोजना हुने भएको छ । नेपाली महिला फुटबल टोली टोली घरेलु मैदानमा हुने प्रतियोगिताबाट उपाधिविहीन यात्रामा पूर्णविराम लगाउन चाहेको छ । लगातार पाँचौंपटक साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता खेलिरहँदा नेपाल सधै‌ं बलियो दावेदारका रुपमा रहे पनि उपाधि बिहिन रहेको छ । नेपालका लागि सधै‌ं बाधक बन्दे आएको छ भारत । यसपालि भने भारतविरुद्ध नेपाली टिम उच्च मनोबलका साथ भएको छ । अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालको इतिहास तीन दशक लामो भए पनि निरन्तर व्यवसायिक फुटबल खेलिरहेको सन् २०१० देखि मात्र हो । सन् २०१० यता साफमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली महिला टोलीलाइ इतिहास रच्नबाट भारतीय टोलीले नै रोकिरहेको छ । घरेलु मैदानमा आयोजना हुने पाचौं साफ महिला फुटबल च्याम्पियनसीपमा दक्षिण एसियाको पावरहाउस भारतलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य रहेको नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्का बताउँछन् ।

‘पछिल्ला दुई म्याचबाट भारतलाई हेर्ने मानसिकता परिवर्तन गरेका छौ,’ खड्का भन्छन्, ‘घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य छ ।’ सन् २०१०, २०१२, २०१४ र २०१६ को विजेता भारतले सन् तीनवटा फाइनलमा नेपाललाई पराजित गरेको थियो भने सन् २०१६ मा सेमिफाइनलमै पराजित गरेको थियो । तर, भारतसँगको पछिल्लो प्रतिस्पर्धामा नेपालले ऐतिहासिक जित निकालेको थियो । यसबाट नेपाली खेलाडीको मनोबल बढेको हो ।

प्रशिक्षक खड्का भन्छन्, ‘हिरो कप र एसियन ओलम्पिक छनोटपछि खेलाडीहरुमा भारतको त्रास हटेको छ ।’ एसियन ओलम्पिकमा नेपालले भारतलाई बराबरीमा रोकेको थियो । भारतमै आयोजित हिरो कपमा २–० गोल अन्तरले पराजित गरेको थियो । नेपाली टोलीको सुधारिएको स्ट्राइकिङ लाइन र डिफेन्स नै उपाधि जित्ने मुख्य आधार रहेको खड्काको दाबी रहेको छ । ‘हाम्रो स्ट्राइकिङ लाइन दक्षिण एसियामा सबै भन्दा राम्रो छ,’ खड्का भन्छन्, ‘महिला फुटबल टोलीको अवस्था सुधारिएको छ ।’

उनी थप्छन्, ‘उच्च मनोबल र गोर्खाली फाइटिङ स्प्रिटका साथ खेल्नेछौं ।’  तयारी अन्तिम चरणमा  प्रतियोगिताको तयारी अन्तरिम चरणमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन् । पूर्वाधार निर्माणको काम लगभग सकिएको उनले जानकारी दिनु भयो । ‘शहीद रंगशाला अन्तर्राष्ट्रिय स्तरको बनाएका छौं,’ उनले भने ।

च्याम्पियनसिपका लागि फागुन २६ गते सबै देशका खेलाडी विराटनगर आइपुग्नेछन् । फागुन २८ गते हुने पहिलो उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । नेपाल समूह ए मा छ । भुटान र बंगलादेश पनि समुह ए मा नै छन् । चारपटकको बिजेता भारतसहित श्रीलंका र माल्दिभ्स समूह बी मा छन् । साफमा सात राष्ट्र सहभागी भए पनि अन्तिम समयमा पाकिस्तानले सहभागिता नजनाउने बताएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here