ओलीले भारतको इशारामा काम गर्दागर्दै देश डुबाउने भए

103

– हुकुमबहादुर सिंह

ओलीले कम्युनिष्ट पार्टीको नाममा देशलाई बरबाद पार्दैछन् । भरखरै उनले भारतीय दवावमा आएर देश विखण्डनको नारा लिएर मधेसमा विखण्डनकारी गतिविधि गर्दै आएको अमेरिकी र युरोपियनसमेतको इशारामा काम गर्ने सीके राउतलाई रेडकार्पेट बिछ्याएर उसलाई उसले राष्ट्रविरुद्ध विगतमा जे–जस्ता गतिविधि गर्दै आएको थियो, माफ गरिदिएका मात्रै छैनन् उसलाई नेपालको दोस्रो प्रचण्ड भनेर सम्वोधनसमेत गरेका छन् । नेपालको एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेता विप्लवलाई लुटेराको सज्ञा दिंदै राष्ट्र बिखण्डनकारीलाई राष्ट्रवादी देख्ने चस्मा आखिरमा उनले दिल्लीकै लगाएको स्पष्ट हुन्छ । एकातिर सीके राउतलाई मानसम्मान दिने अर्कोतिर नेपालका कम्युनिष्टहरू जसले नेपालमा जनगणतन्त्रको स्थापना गर्न नया“ जनवादी क्रान्ति गर्दै समाजवाद र साम्यवादतर्फ देशलाई लैजाने रणनीति र कार्यनीति लिएका राजनीतिक दलहरूलाई तथानाम गाली गर्नाले उनीहरू को बाट सञ्चालित भइरहेका छन् स्पष्ट हुन्छ ।

विगतमा दशवर्षे जनयुद्धको घोषित लक्ष्य र उद्देश्य पूरा गर्न नेपालमा नयाँ शिराबाट नेपाली क्रान्तिलाई अगाडि बढाउन लागेका कम्युनिष्टहरूलाई संविधानविरोधी, राष्ट्रविरोधी हुन्, यिनलाई बेलैमा ठेगान लगाउनका लागि प्रहरी र सेनालाई निर्देशन दिने वर्तमान गृहमन्त्रीको बोली बचन कतिसम्म लज्जास्पद देखिन्छन् भने उनी विगतको दशवर्षे जनयुद्धमा सत्र हजार सहिदको रगतलाई कति छिटो भुल्न सकेका हुन् ? प्रश्न उब्जिएको छ । यसो गरेर ओली र उनको सरकारका गृहमन्त्री दुवैजनाले भारतको इशारामा काम गर्दै देशलाई बरबाद गर्दै छन् भन्ने आधार बलियो भएको छ । हो विप्लव नेतृत्वको नेकपा, किरण नेतृत्वको क्रान्तिकारी माओवादी र अन्य केहीले वर्तमान संविधानको विरोध गर्दछन् किनभने यो संविधान नेपाल र नेपालीको हितभन्दा विदेशी दलाल तथा नोकरशाहहरूको हितमा काम गर्दछ भन्ने उनीहरूको ठहर छ । त्यसैले यसको खारेजी गरेर देशमा जनगणतन्त्रको संविधानको लागि संघर्षको मार्गतर्फ जान चाहन्छन् । तैपनि विप्लववारे केही प्रश्नहरू खडा भएका छन् र स्वयम् प्रचण्डले विप्लववारे भनेका निम्न भनाइहरू यथार्थका नजिक देखिन्छन् ।

प्रचण्डले विप्लवबारे भनेका छन्– ‘विप्लवसित मैले लामो समय काम गरे । उनी मेरो स्कूलका उपज हुन् । हिजो प्रचण्डले जे गरे त्यही तरिकाले काम गर्छु भन्नु मनोगतवादमा फस्नु हो । अब मैले जे जसरी दशवर्से जनयुद्धलाई अगाडि बढाए, त्यसै गरेर अब उनले क्रान्तिलाई अगाडि लैजान असम्भव छ ।’ हुन पनि विगतको जनयुद्धमा भएका कमीकमजोरीलाई (वर्गसंघर्ष र जनआन्दोलनाई उठाउने कठिन कामलाई छाडि जबरजस्ती चन्दा असुली, अपहरणजस्ता कामबाट आन्दोलनको थालनी ) र पैसालाई नै सबै चिजको मापदण्ड बनाएर सम्भव छैन । हो विप्लवमा प्रचण्ड प्रवृति र चिन्तनले ज्यादै प्रभाव पारेको देखिन्छ । प्रचण्डले आफूलाई पार्टीभन्दा भेरै माथि राखेर काम गरेर र कार्यकर्तालाई ‘आदेश देउ प्रचण्ड मर्न मार्न तयार छौं भन्ने समेतका नारा लगाउन उत्पे्ररित गरे परिणाम के भयो ? ‘प्रचण्ड नै पार्टी, पार्टी नै प्रचण्ड’जस्तो शैली अहिले विप्लवको नेकपामा लागु गरिएको छ । ‘विप्लव नै नेकपा, नेकपा नै विप्लव’ बन्न गएको छ ।

प्रचण्डको चर्को विरोध त गर्ने तर प्रचण्डले भनेझै उनकै कार्यशैलीको पदचाप अनुशरण गर्ने । यो कस्तो प्रचण्ड विरोध हो । ओलीले संसदमा एकातिर नागरिकतासम्बन्धी विधेयक, विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकजस्ता देश र जनता विरोधी विधेयकद्वारा देशको सार्वभौमिकतामाथि खतरा निम्ताउने काम गर्दै छन् भने अर्कोतिर सीके राउतजस्ता विखण्डनकारीलाई अंगालो मारी भारतलाई खुसी पार्न तल्लिन देखिएका छन् । अब समयमा नै नेपाली जनताले ओलीको र प्रचण्डको दिल्ली मोहलाई बेलैमा चिनेर विरोध नगरे उनीहरूले भारतको इशारामा काम गर्दागर्दै देश डुवाउने निश्चित छ । -singhhukum683@gmail.com- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here