वसन्तपुरमा फागुको ‘चिर’ विधिवत् रुपमा ठड्याइयो

295

काठमाडौं / काठमाडौंमा बिहिबारदेखि फागु सुरू भएको छ। फागुन शुक्ल अष्टमीको अवसरमा बिहान ११ : ५५ को साइतमा ‘चिर’ उठाइ एक अर्कालाई रंग लगाएर फागुको विधिवत सुरू भएको छ । हनुमान ढोकाका चार स्थान सुन्दरी चोक, दाग चोक, मुल चोक र वसन्तपुरमा चिर ठड्याइएको छ ।

हिन्दु महासंघका अध्यक्ष राजन महर्जनका अनुसार यसको आफ्नै विशेषता छ। ‘सुन्दरी चोकमा मल्ल राजा, दाग चोकमा भारद्वारहरूले फागु खेल्ने गरिन्छ ।,’ उनले भने, ‘मूलचोकमा दरबारका कर्मचारी र वसन्तपुरमा जनतालाई खुसी पार्न चिर उठाएर फागु मनाउने दिइयो।’

यी चार स्थानबाहेक नारायणहिटी दरबारमा समेत चिर उठाएर फागु प्रारम्भ गरिने चलन थियो । गणतन्त्र पश्चात यो नरहेको महर्जनले बताउनु भयो । महर्जनका अनुसार फागुको प्रारम्भका रूपमा उठाइने चिर भनेको मयलको रूख हो। मयलको रूखमा बसेर कृष्णले गोपिनीहरू निरवस्त्र पोखरीमा नुहाइरहेका हेरिरहेका हुन्छन्। उनीहरूको लुगा लुकाइदिन्छन् । पछि माफी मागेपछि फिर्ता दिन्छन्। त्यही मयलको रुख स्वरूप चिर राखिने गरिन्छ ।

सबभन्दा ठूलो चिर वसन्तपुरमा देख्न सकिन्छ। रंगीविरंगी ध्वजाले सजिएको त्यो चिरको ध्वजाले गोपिनीको लुगा मयलको रूखमा कृष्णले लुकाएको संकेत हुने महर्जन बताउँछन्। ‘यसरी कलियुगमा भगवानको कथा देखाइन्छ, उनले भने, ‘मूल चोकमा रहेको चिरमा ७ गोपिनी र कृष्णको मूर्ति राखिन्छ। त्यो यसैको संकेत हो।’

फागु शुक्ल अष्टमीबाट सुरू भएको फागु पूर्णिमासम्म मनाइने गरिन्छ । अन्तिम दिन चिर ढालिन्छ र मयलको रूखलाई तानेर हनुमानढोका हुँद‌ै टुँडिखेल लगिन्छ। यहि क्रममा चिरमा रहेको लुगा लुछाचुँडी गर्नेको भिड पनि बाक्लै हुन्छ,ु महर्जनले भने, ‘चिरको लुगाले बच्चाहरूको राग निको हुने र रुन्चे समस्या हट्ने मान्यता रहेको छ ।’

टुँडिखेलमा लगेको चिरलाई भने पराल र गुइँठामा आगो बालेर साइतअनुसार जलाइन्छ। यो पटक साइत १० बजेर ३ मिनेटमा रहेको महर्जनले जनाउनु भयो । ‘यसरी काठमाडौंमा चिर जलाएको भोलिपल्ट तराईमा फागु मनाइने परम्परा गरेको उनले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here