पुरानो पुस्ताका अनुभव वटुल्दै तुलसीपुर

78

तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकका अनुभवलाई समाजमा सबैका सामुमा पुर्याउनका लागि ज्येष्ठ नागरिक मनोपरामर्श तथा सम्मान कार्यक्रमको सुरुवात गरेको छ । जीवनको लामो समयसम्म उनीहरुले हासिल गरेको अनुभवलाई नयाँ पुस्ताले सिक्न सकुन् भनेर उपमहानगरपालिकाले यस्तो अभियानको सुरुवात गरेको हो । ‘ज्येष्ठ नागरिकलाई सम्मान गर्नका लागि अभियान’को सुरुवात गरेको स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले जनाए ।

उनले मेरो कथा मेरो जीवन अभियान मार्फत उपमहानगरपालिका भरिका ज्येष्ठ नागरिकका अनुभव आदान प्रदान गरिने पनि जनाए ।

अभियानको सुरुवात गर्दै नगरप्रमुख घनश्याम पाण्डेले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने वताए । ‘ज्येष्ठ नागरिकलाई वोझ ठान्नु हुँदैन, उनीहरुकै कारण अहिलेको विकास सम्भव भएको हो’ -उनले भने । नगरप्रमुख पाण्डेले ज्येष्ठ नागरिकका अनुभवहरु समाजको सम्पत्ति समेत भएको जनाए । उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानका लागि विभिन्न अभियानको समेत सुरुवात गरिएको नगरप्रमुख पाण्डेले जनाए । ज्येष्ठ नागरिक सरोकार समिति दाङका भोलानाथ योगीले आधुनिकताको नाममा ज्येष्ठ नागरिकप्रतिको सम्मान घट्दै गएको जनाए । जीवनभर सन्तानका लागि योगदान दिने ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने उनको कथन थियो ।

वडा नम्वर ३ का वडाध्यक्ष विजय विकको स्वागत मन्तव्य एवम् ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगारिक समाज दाङका निवर्तमान अध्यक्ष टिकाराम रेग्मी लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा ज्येष्ठ नागरिकको सुगर र मृगौला जाँचका साथै सरसफाई वाकस समेत प्रदान गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका भित्रका सम्पूर्ण वडामा लैजाने अभियानको सुरुवातमा वडा नम्वर ३,८ र ९ का ज्येष्ठ नागरिकहरुलाई सहभागि वनाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here