छाउगोठ प्रथा जरैदेखि उन्मुलन गर्न जरुरी

264

-राज्यलक्ष्मी शाक्य
नेपाली समाजमा विद्यमान कूसंस्कारले गर्दा नेपाली महिलाहरूले निकै सास्ती भोग्नु परिरहेका घटनाहरू हामी बेलाबखत सुन्ने गर्दछौं । चेतनाको अभावले गर्दा हुने त्यस्ता घटनाहरू न्यूनीकरणतर्फ राज्यले कुनै प्रयास नगर्दा सुधार पनि आउन सकेको छैन । यहाँ खासगरी छाउपडी प्रथाबारे केही चर्चा गर्न प्रयास गरिएको छ । प्राचीनकालदेखि नै चलिआएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नु पर्ने हाम्रो समाजमा रहेको परम्परागत सोचलाई नै छाउपडी प्रथा भनेर बुझिन्छ । यस्तो सोचमा परिवर्तन आउन नसक्दा सुदूरपश्चिमका जिल्लाहरूमा अझै पनि छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ ।

मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरालगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा कायमै छ । छुईका कारण अलग्गै बसेका बेला महिलाहरूमा पटक–पटक अप्रिय घटना हुने गरेका समाचार सुन्ने गरिन्छ । यसरी समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु, रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनको अन्त्य नहुनुले हाम्रो समाजका महिला पिछडिएको वर्गमा पर्ने गरेका छन् । यस्तो गलत रुढिवादी परम्पराले हाम्रो समाजमा निरन्तरता पाउँदै आएको छ ।
अधिकांश बालबालिका विद्यालयमा छाउ भएका बेला छात्रा एक सातासम्म विद्यालय नजाने गरेका छन् । छाउ भएका बेला विद्यालय जाँदा देउता रिसाउने र ज्ञान नष्ट हुने मानसिकता नहट्दा छाउ प्रथाको अन्त्य हुन सकेको पाईदैन । विद्यालयमा समेत यस्तो खालको भ्रम रहनुले शिक्षा क्षेत्र कमजोर छ भन्ने कुरा पुष्टि गर्दछ । सरकारले विद्यालय स्तरमा नै छाउपडी प्रथाबारे प्रभावित जिल्लाहरूमा पठनपाठनको व्यवस्था मिलाउनुपर्ने आवश्यकता महसुस हुन्छ ।

महिनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् सोचको विकास भएको पाइन्छ । पाप लाग्छ भन्नेजस्ता रुढीबादी र अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा महिलाहरू बस्ने गर्दछन् । जसलाई छाउगोठ भन्ने गरिन्छ । त्यहाँ गोठमा महिला सुत्नसमेत नसक्ने, ढोका नभएको छाप्रो हुने हुँदा महिला असुरक्षित हुने गर्दछन् । छाउगोठमा सुत्नुपर्ने हुँदा बाह्य जनावरको आक्रमण र बलात्कारको शिकार पनि हुनु परेको छ । सर्पले डसेर छाउगोठमा बस्ने महिलाको मृत्युको खबर पनि हामीले सुन्दै आएकै हो । घरभित्र पस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दहीजस्ता पोषणयुक्त खानेकुरा खान नदिनेजस्ता अमानवीय व्यवहार गर्ने, आराम गर्नुपर्ने बेला गहुँ्रगो भारी बोक्न लगाउने तथा पोषणयुक्त खानेकुराबाट वञ्चित गर्नेजस्ता व्यवहारले महिलाको स्वास्थमा असर पु¥याइरहेको हुन्छ । यसरी महिनावारी तथा सुत्केरी हुँदा शारीरिक रूपले कमजोर भएका अवस्थामा उनीहरूले उचित हेरविचार र पौष्टिक खानपान पाउनुको साटो उल्टो तिरस्कार, शारीरिक पीडा र लामो समयसम्म घरबाट टाढा एक्लै बस्नुपर्दा महिला अन्यायमा परेका छन् ।

केही वर्षयता छाउपडी प्रथा अन्त्य गर्न छाउगोठहरू भत्काउने अभियानहरू पनि नचलाइएका होइनन् । तर पनि यो प्रथाको अन्त्य हुन सकेको छैन । महिला पीडित बन्दै गएका छन् भने कतिपय महिलाको मृत्यु समेत भएको छ ।
परम्परागत सामाजिक मूल्य र मान्यता, रुढीबादी सोच, धार्मिक अन्धविश्वास, जनचेतनाको कमी, लैंगिक विभेद्, अशिक्षा, उपयुक्त कानुन र नियमको अभावका कारण छाउपडी प्रथाले निरन्तरता पाउँदै आएका कारण यस्ता रुढिवादी छाउपडी प्रथा हाम्रो समाजमा ठूलो समस्याका रूपमा रहेकाले छाउपडी भत्काउने कार्यलाई सँगसँगै यसलाई जरैदेखि उन्मूलन गर्न आवश्यक छ ।

समाजमा व्याप्त कुरीति, कुसंस्कार र अन्धविश्वासलाई महिलाहरूले नै प्राथमिकताका साथ यस्तो छाउगोठ तथा छाउप्रथाको अन्त्य गर्न जरुरी छ । महिलाका लागि उठ्ने गरेका महिला अधिकार, महिला आरक्षण, महिला विकास, महिला सशक्तीकरण आदि जस्ता मुद्धाहरूका बारेमा अग्रसर हुनु भन्दा व्यवहारमा पनि यस्ता प्रथामा सुधार र बन्देज लगाई यस्ता प्रथाबाट पीडित महिलाहरूको जन चेतना बढाउने काम पहिलो प्राथमिकतामा राखिनु आवश्यक छ । देशमा महिला राष्ट्रपति भएको वर्तमान अवस्थामा पनि यस्ता विकृतिहरूको अन्त्य गर्न नेपाली महिलाहरू पछाडि पर्नु दुर्भाग्यपूर्ण हो । राष्ट्रपतिबाटै यस्तो कूप्रथाको अन्त्यका लागि पहल हुन सकेका खण्डमा निश्चय पनि समाजमा सुधार आउन आशा गर्न सकिन्छ ।[email protected] जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here