चितवन / चितवनको खैरहनी नगरपालिकाका केही निजी विद्यालयहरुले अवैध कक्षा सञ्चालन गरेको पाइएको छ । खैरहनी नगरपालिका ८ मा रहेको ज्ञानसुधा इग्लिस स्कुलले कक्षा २, ३, ४ र ५ दर्ता नगरी अवैध रुपमा सञ्चालन गरेको रहेछ । यस्तै, नेशनल आवासीय मावि खैरहनी ८ ले कक्षा ४ र ५, दीपज्योती इग्लिस बोडिङ स्कुल खैरहनी ४ ले कक्षा ६, ७ र ८, चितवन आइरिस इग्लिस स्कुल खैरहनी १० कठारले कक्षा ७ दर्ता नगरी अवैध रुपमा सञ्चालन गरेको भेटिएको हो ।
यी विद्यालयहरुले ७ र ८ वर्ष अगाडिदेखि नै अवैधरुपमा कक्षा सञ्चालन गर्दै आएको रहेछ । खैरहनी नगरपालिकाको शिक्षा समितिले अवैध कक्षा बन्द गर्न वा दर्ता प्रकृयामा आउन निर्देशन दिएको भए पनि दर्ता भएका छैनन् ।
ज्ञान सुधा इग्लिस विद्यालयका प्रिन्सिपल राजकुमार दाहालले विद्यालयको केही कक्षा दर्ता नभएको स्वीकार गरेका छन् । दाहालले हरेक वर्ष एकएक कक्षा मात्रै दर्ता अनुमति पाउने भएकोले अव प्रकृयामा जाने बताए । खैरहनी नगरपालिकामा निजी विद्यालय मात्रै होइन, सरकारी आधारभूत विद्यालय गोठेश्वरले समेत कक्षा ७ सञ्चालनको अनुमति नलिइ पठनपाठन गराउँदै आएको छ ।
शिक्षा समितिका सदस्य प्रेम रिमालले नगरपालिकाका कर्मचारीहरुले समितिको निर्देशन अनुसार अवैध कक्षा सञ्चालन गर्ने निजी विद्यालयमाथि कडाइ गर्न नसकेको बताउनु भयो । खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले अनुमति नलिइ कक्षा सञ्चालन गरेका निजी विद्यालयका बारेमा कस्तो कदम चाल्ने भन्नेबारेमा आगामी आइतबार शिक्षा समितिको बैंठक बसेर निर्णय गर्ने जनाएका छन् ।
अघिल्लो वर्ष नै शिक्षा समितिले दिएको निर्देशन निजी विद्यालयले पालना नगरेकोले यसपटक बन्द गर्ने वा प्रकृयामा लैजाने भन्ने बारेमा छिनोफानो गरिने मेयर चौधरीको भनाइ छ ।