-प्रीती रमण
देशमा यतिबेला नागरिकताको विषय बहसमा केन्द्रीत रहेको छ । नागरिकता हुन त एउटा कागजको खोस्टा हो, तर नागरिकताले एउटाको राष्ट्रको परिचयसंगै अधिकार र दायित्वलाई पनि सम्झाउने गर्दछ । म यो देशको नागरिक हो भन्ने बोध पनि नागरिकताले गराउँछ । नागरिक भनेको एउटा सार्वभौम सत्ता सम्पन्न मुलुकको कानुनको परिधिभित्र रहेर उक्त मुलुकमा बस्न योग्य व्यक्ति हो । त्यसका लागि राज्यका केही सीमा र नियमहरु हुन्छन् । कुनै मुलुकले आफ्नो नागरिक हुन आवश्यक मापदण्ड पुरा भएको व्यक्तिलाई दिने प्रमाणपत्र नै नागरिकता हो । त्यसैले कुनै सार्वभौम मुलुकको नागरिक हुनु एउटा गर्वको विषय हो, सँगै कर्तव्य र दायित्व पनि जोडिएर आउँछ । नागरिक हुनका लागि विभन्न मापदण्डसँगै केही प्रक्रिया पनि हुने भएकाले यो जसले मन लाग्यो त्यसले पाउने विषय होइन । नागरिक हुन लायक व्यक्ति नागरिकता पाउनबाट बन्चित हुनुहुँदैन र कसैको स्वार्थका लागि गैर नागरिकले नागरिकता प्राप्त गर्ने अवस्था हुनु पनि हुँदैन ।
सरकारले हालै तयार पारेको र संसदमा छलफल जारी रहेको नागरिकता विधेयक संसदमा पेस हुँदै गर्दा यसमा व्यवस्थागरिएका प्रावधान र नागरिकता कसले पाउने कसले नपाउने भन्ने विषयमा पछिल्लो पटक विभिन्न किसिमका बहसहरु हुने गरेका छन् । कतिपयले विदेशी नागरिक रहेकी बुहारीले सजिलै नागरिकता पाउँदा विदेशी नागरिक ज्वाईँले किन नपाउने भन्ने जस्ता विषयमा बहस गरिरहेका छन् भने कसैले नागरिकता दिने आधार के हो भन्ने विषयमा बहसको उठान गरिरहेका छन् । सामान्यतः लोकतन्त्रमा विभिन्न आयामबाट बहसहरु गर्न सक्ने अधिकार नागरिकले प्राप्त गरेका हुन्छन् । तर कुनै विषयको कार्यान्वयनको विषय भने बहस गरेजसरी सजिलो हुँदैन गर्नु र गरिनु पनि हुँदैन । अहिले मुख्य विवादको विषय भनेको विशेष गरी भारतीय बुहारी र ज्वाईंलाई नागरिकता दिने र अन्य कतिपय विदेशी ज्वाईहरुलाई नागरिकता दिने भन्ने कुरामा देखिन्छ ।
जबकी नागरिकता भनेको कसैका ज्वाइलाई नजिक बनाउन वा कसैका विदेशी आफन्तलाई नजिक बनाउन वितरण गरिने कागजको खोस्टो होइन । माथि पनि उल्लेख गरिएको छ, नागरिक हुन त्यो मुलुकको कानुनी परिधि र कतिपय मापदण्ड पुरा गर्नुपर्छ । नकि यो कुनै केटाकेटीको खेल हो । त्यसैले यस्ता विषयमा बहस उठान गर्ने व्यक्तिले कम्तिमा आफ्नो परिवार र पार्टीको दायराभन्दा माथि उठेर राष्ट्रिय स्वाधीनताको सवाललाई केन्द्रमा राखेर बहस गर्न सक्नुपर्छ ।
नागरिकताको विषयलाई कसरी कमजोर बनाउने भनेर विभिन्न प्रपञ्च विगत ५०/६० वर्षदेखि नै भइरहेका छन् । कतिपय नाम चलेका लेखक वा नेताहरुलाई बोल्न लगाएर यो विषयलाई आफू अनुकूल बनाउन प्रयास गर्ने देखि नीति निर्माण तहमा हुनेलाई आफ्नो प्रभावमा पारेर यो विषयलाई कमजोर बनाउने खेल पछिल्ला केही दिनमा घामजस्तै छर्लंग भएका छन् । जबकी नागरिकता प्राप्तिको विषय कति जटिल हुन्छ भन्ने कुरा छिमेकी मुलुक भारतकै उदाहरण हेरे पुग्छ । भारतका पूर्व प्रधानमन्त्री राजिव गान्धीकी श्रीमती एवं कांग्रेस आईकी मुख्य नेता सोनीया गान्धीले इटालियन नागरिक भएकै कारण भारतमा नागरिकता प्राप्त गर्न निकै पापड बेल्नुप¥यो । उनी विदेशी नागरिक भएकै कारण गान्धी परिवारकी बुहारी भएपनि देशको प्रधानमन्त्री वा राष्ट्रपति बन्ने हैसियत प्राप्त गर्न सकेकी छैन । नेपालको भौगोलिक परिस्थिति यति गम्भीर छ कि नागरिकताको विषयमा खेलबाड गरियो भने देशको अस्तित्व समाप्त हुन समय लाग्ने छैन ।
आफ्नै मुलुकमा विदेशी नागरिकलाई नागरिकता दिने विषयमा कठोर नीति अवलम्वन गर्दै आएको भारतले नेपालमा भारतीयलाई सहजै नागरिकता दिने तथा उनीहरुलाई मुलुकको सर्वाेच्च पदमा लैजान पहल गर्ने काम किन गरिरहेको छ ? यो विषय हरेक देशभक्त नेपालीले बुझ्न जरुरी छ । हाम्रै अगाडि फिजी र सिक्किमको अवस्था के छ भन्ने थाहा हुँदाहुँदै आफ्नै खुट्टामा बन्चरो हान्ने प्रयास हामी आफैले किन गरिरहेका छौँ ? नेपालकै नागरिक हुँदा समेत मापदण्ड र कानुनी प्रावधानका कारण नागरिकता पाउन नसकेका नागरिकका पक्षमा बोल्न हिचकिचाउने हामी अरु देशका नागरिकलाई नागरिकता दिन किन यति धेरै मरिहत्ते गर्दैछौँ ? यसका पछाडि धेरै स्वार्थ जोडिएका छन् । विडम्बना तिनै स्वार्थका पछाडि हाम्रा वुद्धिजीवि, अधिकारकर्मी र राजनीतिक नेतृत्व समेत कुदिरहेका छन् । यसको परिणाम के हुन्छ ? त्यो आँकलन गर्नेमा भन्दा पनि अहिले एउटा तप्का अधिकारका नाममा इमोशनल ब्ल्याकमेलमा लागिरहेको छ । यस्तो किमार्थ स्वीकार्य हुँदैन ।
नागरिकता देशको सार्वभौमसत्ता र स्वतन्त्रतासँग जोडिएको विषय भएकाले यसमा कुनै किन्तु वा परन्तुले काम गर्नु हुँदैन । नागरिकता पाउन योग्यले नागरिकता नपाउने अवस्था सिर्जना हुनु हुँदैन । तर कसैको स्वार्थका लागि विदेशी नागरिकलाई नागरिकता दिने विषय स्वीकार्य हुँदैन । मधेशी नागरिकको अधिकारको नाममा छिमेकी देशका पिता ठेगान नलागेका छोराहरुलाई नक्कली आमा बनाउँदै वास्तविक मधेशवासीहरुलाई अल्पमतमा पार्ने कसरत छिमेकी देशबाट भइरहेको यथार्थलाई देशभक्त नेपालीहरु अझ खासगरी मधेशवासी नेपालीहरुले गम्भीरतापूर्वक लिन जरुरी छ । कतिपयले भन्ने गरेको सुनिन्छ, नेपालको नागरिकता पाउँदैमा के के हुनेजस्तो नागरिकता दिन किन कञ्जुसी ? पंक्तिकार मधेशवासी नागरिक समेत भएकाले त्यस्तो तर्क गर्नेहरुसँग भन्न चाहन्छ, नेपालको नागरिकता पाउँदैमा के के नै हुदैन भने त्यो प्राप्तिका लागि यति ठूलो मरिहत्ते किन ? छिमेकी देशका नागरिकहरुलाई नेपालको नागरिकता दिलाउन यत्रो दबाब किन ? व्यक्तिका आफ्ना चाहना र इच्छा हुन सक्छन् । तर एउटा व्यक्तिको लहड र स्वार्थका लागि पुरै मुलुक उसको पछि दर्गुन सक्दैन । राज्यका आफ्नै नियम, कानुन र प्रक्रिया हुन्छन् । ती प्रक्रिया पुरा गर्ने व्यक्ति मात्र नागरिकता प्राप्त गर्न योग्य हुन्छ । [email protected]जनधारणा साप्ताहिक