हावाहुरीबाट पीडित घाइतेको उपचार सरकारले गर्ने

204

काठमाडौं / सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, `घाइते भई अपाङ्गता तथा अशक्त हुने तथा मृतकका परिवारका सदस्यलाई सरकारले यथोचित व्यवस्था गर्नेछ ।´ उक्त घटनामा परेर हालसम्म २७ जनाको मृत्यु हुनुका साथै ६१३ जना घाइते भएका छन् । ठूलोमात्रामा आर्थिक क्षति भएको छ । उक्त दुःखद् घटनामा परी ज्यान गुमाउने मृतकप्रति श्रद्धासुमन अपर्ण गर्दै सरकारले शोक प्रकट गर्ने निर्णय गरेको छ ।

बैठकले प्रभावित शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधिसहितको स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने तथा विपद् प्रभावित क्षेत्रमा विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्ने बैठकले गरेको निर्णय छ ।

प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन सम्बन्धित निकायले थप सतर्कता अपनाउन निर्देशन दिँदै बैठकले त्यसका लागि तत्काल आवश्यक कदम चाल्ने निर्णय समेत गरेको छ । बैठकले यस दुःखद् परिस्थितिमा प्रशासनिक निकाय, सुरक्षा अङ्ग, स्थानीय तह, निजी क्षेत्र, सामाजिक संस्था एवं गैर सरकारी संस्थालाई समन्वयात्मकरुपमा परिचालन गरी विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयको समन्वयमा उक्त क्षेत्रमा भएको क्षतिको विवरण यथाशीघ्र तयार गरी मूल्याङ्कन गर्ने र तथ्य विवरणसहितको परिस्थिति स्पष्ट भइसकेपछि पुनःस्थापना तथा पुनःनिर्माणलगायतका आवश्यक विषयका सम्बन्धमा आवश्यक निर्णय गर्ने मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, `सबैको समन्वयात्मक ढङ्गमा प्रभावित क्षेत्रमा काम गर्नुपर्छ, प्राकृतिक विपद् आइलागेर नागरिक पीडित हुनुहुन्छ । यस्तो बेलामा समन्वयात्मक ढङ्गले नै काम गर्नुपर्छ, स्थानीय, प्रदेश र सङ्घीय सरकारले समन्वयात्मक काम गर्नेछन् ।´

घटनालगत्तै हेरविचार गर्ने, उद्धार गर्ने, अस्पताल तथा स्वास्थ्य संस्था पु¥याउन सहयोग गर्ने, शल्यक्रियालगायत आवश्यक उपचारमा संलग्न हुने, सुरक्षा दिने, समाचार दिनेलगायतका कार्यमा स्वतःस्फूर्त तत्कालै परिचालित भई प्राकृतिक विपद्मा तदारुकताका साथ मानवीय उद्धारमा संलग्न भई सेवा पु¥याउने सबै तह र तप्काप्रति सरकारले हार्दिक धन्यवाद प्रकट गरेको छ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरुले आजै प्रभावित क्षेत्र र घटनाको प्रत्यक्ष निरीक्षण र अवलोकन गरी आवश्यक निर्देशन दिइसक्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here