प्रहरीबाटै प्रश्नपत्र आउट भएको खुलासा

35

काठमाडौं / प्रदेश २ मा एसईई परीक्षामा प्रश्नपत्र बाहिरिएको घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिनको घटनामा प्रहरीकै संलग्नता देखिएको छ ।

प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टाछुट्टै छानबिन गरेका थिए । सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ । यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेका छन् ।

दुवै समितिले अनुसन्धान जारी रहेको जनाइरहेका बेला सीआईबीले दुई प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो । एक उच्च प्रहरी अधिकारीका अनुसार सोमबार बिहान काठमाडौं ल्याइएका दुवैलाई हतकडी लगाइएको छ । उनीहरू दुवैलाई दिनभर सीआईबी कार्यालयमा राखेर सोमबार साँझ प्रहरी प्रधान कार्यालयअन्तर्गतको एक नम्बर गणमा पुर्‍याइएको थियो । नियन्त्रणमा लिइएकामध्ये ब्रह्मदेवको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा दरबन्दी रही इलाका प्रहरी कार्यालय कल्याणपुरमा काजमा खटिएको खुलेको छ । सीआईबीले नियन्त्रणमा लिएका दुई प्रहरीमध्ये एक परीक्षार्थी पनि हुन् भने अर्का प्रश्नपत्रको तस्बिर खिच्न संलग्न थिए ।

नजिकका साथीसमेत रहेका उनीहरूबाटै प्रश्नपत्र बाहिरिएको पर्याप्त आधार भेटिएको एक प्रहरी अधिकारीले जनाए । ती प्रहरी अधिकारीले केही तथ्यगत र उनीहरूबाट बाहिरिएको प्रश्नपत्र अन्य धेरै परीक्षार्थीमा पुर्‍याउने काममा क–कसको संलग्नता थियो भन्ने पुष्टि गर्न थप अनुसन्धान भइरहेको जनाए । उनीहरू दुवै कार्यरत इलाका प्रहरी कार्यालय कल्याणपुरमा जनता मण्डल मावि बनिनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । एसईई परीक्षार्थी प्रहरी जवान कुन केन्द्रमा थिए भन्ने खुल्न सकेन ।

प्रश्नपत्रको सजिलै पहुँचमा रहेका उनीहरूमध्ये एकले सिल खोलेर प्रश्नपत्रको फोटो खिचेको अनुसन्धानले देखाएको छ । उक्त फोटो उनले परीक्षार्थी प्रहरी साथीलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट पठाए । नियन्त्रणमा रहेका प्रहरी जवानले प्रश्नपत्रको फोटो खिचेर साथीलाई दिएको स्वीकारी सकेको स्रोतले जनाएको छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको सुरक्षण प्रेसमा छापिएको प्रश्नपत्र ७७ जिल्लाका जिल्ला प्रहरी कार्यालय हुँदै परीक्षा केन्द्र नजिकैको प्रहरी चौकीमा पुग्छ । खाम, प्लास्टिक, बोरा, कार्टुन र थैलो गरी पाँच पत्रमा सिलबन्दी गरेर जिल्ला पुर्‍याइने प्रश्नपत्र जिल्ला प्रहरी कार्यालयमा परीक्षा समन्वय समितिको उपस्थितिमा खोलिन्छ । दुई तहको सिलबन्दी खोलेपछि सिलबन्दीसहितका स–साना पोका परीक्षा केन्द्र नजिकैका स्थानीय प्रहरी चौकीमा परीक्षाको दुईदेखि तीन दिनअगावै सम्बन्धित केन्द्राध्यक्षको उपस्थितिमा प्रश्नपत्रको सिलबन्दी पोको पुर्‍याइन्छ । यसरी पुर्‍याइएको प्रश्नपत्रको पोको प्रहरीले सुरक्षित राख्नुपर्छ ।

स्थानीय प्रहरी चौकीमा पुगेको प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा १ घण्टाअघि केन्द्राध्यक्षको रोहबरमा मुचुल्का गरी परीक्षा केन्द्र लगिन्छ । परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि अर्थात् ७ः३० बजे स्थानीय प्रहरी, परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरूको रोहवरमा मुचुल्का गरी प्रश्नपत्रको पोको खोलिन्छ । प्रश्नपत्र परीक्षाको सुरुवाती घन्टी बजेपछि मात्रै विद्यार्थीको हातमा पुग्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here