-राज्यलक्ष्मी शाक्य
काठमाडौं शहर प्रदूषणले भरिएको छ । जताततै प्र्रदूषण– वायूको प्रदूषण, धूलोको प्रदूषण, धूवाँको प्रदूषण, ध्वनीको प्रदूषण र फोहोरमैलाको प्रदूषण लगायतले गर्दा आम मानिसहरू समस्या झेल्न बाध्य भैरहनु परेको छ । अहिले धूलो नियन्त्रण गर्ने भनेर काठमाडौं महानगरले ब्रुमर ल्याएको छ । समस्याको समाधानका लागि अहिले काठमाडौंका सडक सफा गर्ने भनेर महानगरले इटालीबाट ११ करोड ८० लाखमा खरिद गरेर ल्याएको सफा गर्ने पाँचवटा ब्रुमर नेपाल भित्र्याएको हो । तर अहिले काठमाडौंको शहरमा धुलो सफा गर्न खटिएका पाँचवटा ब्रुमर यतिबेला चुनौती खेपिरहेका छन् । विदेशका चिल्ला सडक सफा गर्ने ब्रुमरलाई काठमाडौंका खाल्डाखुल्डी परेका सडक सफा गर्न कठिनाई भइरहेको छ । ब्रुमरलाई अव्यवस्थित सहरका सडक सफा गर्न चुनौती परिरहेको छ । सडकमा थुपारिने गिटीबालुवा , घर भत्काउदा निस्कने धूलो र फोहोरले काठमाडौं वातावरणीय प्रदूषण बढेर स्वास लिन समेत असजिलो हुने गरेको छ । यो अवस्थाले गर्दा धूलो सफा गर्ने ब्रुमरलार्ई समेत कठिनाई भइरहेको समाचारले काठमाडौं उपत्यकालाई फोहोरबाट बचाउन के गर्नुपर्ला भन्नेतर्फ सोच्नु आवश्यक भइसकेको निष्कर्षमा पुग्न सकिन्छ ।
महानगरले जनाए अनुसार प्रतिघण्टा अधिकतम २५ हजार वर्गमिटर क्षेत्र सफाइ गर्न सकिने इटालियन मोडलका ब्रुमरले एक पटकमा ६ टन धूलो उठाउने क्षमता राख्छ । ब्रुमरको अगाडि एक, पछाडिपट्टि दायाँ र बायाँ गरेर दुई र बीचको भागमा एउटा ब्रस भएको ब्रुमरमा ५ सय लिटरको पानी ट्याङकी छ । जसले धुलो उठाएपछि पानीबाट सफा गर्ने गर्दछ । यस ब्रुमरमा जडान गरिएको ब्रसले न्यूनतम २६ सय मिलिमिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्ने जनाइएको छ ।
झन–झन् प्रदूषित बन्दै गइरहेको काठमाडौं उपत्यकाको हावामा सास फेर्न नै असहज भएको छ । ब्रुमरले काठमाडौं सडक सफा हुन्छ भन्न सकिन्न र भएको पनि छैन । काठमाडौंको सडक सफा गर्न काठमाडौंवासी आफै सरसफाइमा पूर्ण ध्यान दिनु जरुरी छ । सडकमा जताततै पानी र ढलको बहनामा राम्रो सडक पनि विभिन्न बहनामा खन्ने कार्य भइरहेका छन् । जसले सडक सरसफाईमा बाधा पु¥याइरहेको छ । केही समयअगाडि उपत्यकाको रत्नपार्क, पुल्चोक, धुलिखेलमा प्रदूषण मापकयन्त्र राखेर प्रदूषण मापन गरिदै आएको छ । यसले दिनदिनै सडकमा धुलो बढ्दै गएको तथ्यांक देखाएको छ । सडकमा धूलो बढ्नाको मुख्य कारण सडकमा भएका खाल्डाखुल्डीहरू नै हुन् जसले धुलो उत्पन्न भइरहेको छ । सरकारले यस्ता खाल्डाखुल्डी नपुर्ने अनि वातावरण प्रदूषण भयो भनेर ब्रुमर ल्याएर सडक सफा गर्ने तथा वातावरण प्रदूषणरहित बनाउने योजना बनाउनु रोग लागेपछि उपचार गर्छु भनेर सोच्नु जस्तै भएको छ ।
रोग लागेपछि उपचार गर्छु भन्दापनि रोग लाग्नै नदिनु राम्रो भनेजस्तै सडकको धुलो नियन्त्रण गर्न ब्रुमर ल्याउने नभइ धुलो के कारणले भएको हो भन्ने वास्तविकता बुझेर धूलो हुनै नदिनेतर्फ सोच्नु जरुरी हुन्छ । महानगरकाका जनप्रतिनिधिहरू सबैले यो सवालमा ध्यान पु¥याउन सके मात्र समाधानतर्फ को कदम पनि सार्थक हुन सक्ला । सरकारले फोहर व्यवस्थापन गर्ने र सडक व्यवस्थापनका साथै यातायात व्यवस्थापन गर्ने हो भने धुलो आफै नियन्त्रण हुनेछ । राज्यको आर्थिक कोषबाट यतिधेरै रकम खर्च गरेर उपकरणहरू ल्याउनैपर्ने आवस्थाको सृजना हुँदैनथ्यो । आफ्नो देशमा प्रदूषणको मूल समस्या रहेको सडक व्यवस्थापन गर्नतर्फ ध्यान दिन छोडेर सरकारले समस्या समाधानको वैकल्पिक उपाय खोज्दै राज्यको आर्थिक कोषबाट विदेशी उपकरण धमाधम खरिद गर्ने र बिग्रिएपछि मर्मत गर्ने नाममा भत्ता हसुर्दैै यी उपकरणहरू पुनः थन्काउने नगरिएला भन्न सकिन्न । यस्तो परिपार्टीले जनताको करबाट संकलित राज्यको ढुकुटी रित्याउने काम मात्र हुनेछ । यसतर्फ सरकार सचेत रहनु जरुरी छ ।-rajyalaxmishakya@gmail.com


















