दाइजोप्रथाले असुरक्षित भइरहेका मधेशी महिलाबारे

185

-प्रीति रमण

हालै तराई–मधेशमा आएको आँधीहुरीमा परी झण्डै तीन दर्जनले ज्यान गुमाएका छन् भने सयौँ नागरिक घाइते र हजारौँ नागरिक पालमुनी बस्न बाध्य भएका छन् । कहिले आँधी त कहिले बाढीको चपेटामा तराई–मधेश पटक–पटक पर्ने गरेको छ । भारतीय सीमासँग जोडिएको यस नेपाली भू–भागमा बसोबास गर्ने नेपाली नागरिकले सीमापारीबाट आउने सुरक्षाकर्मी र आपराधिक समूहबाट समेत पटक–पटक दुःख भोग्दै आएका छन् । साथसाथै सामाजिक चेतनाका अभावले तराई–मधेशवासी समाजमा लामो समयदेखि परम्परा बन्दै आएको दाइजोप्रथा पछिल्लोपटक थप चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

हालै मात्र नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा.सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनिता यादवको उपचारका क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालमा मधुमेह तथा थाइराइड रोग विशेषज्ञका रूपमा कार्यरत डा.यादवकी जेठी श्रीमती सुनिताको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जकी सुनितालाई चैत ६ गते राती मरणासन्न हुनेगरी डा.यादवले पिटेका थिए । उनलाई कुटपिट गर्नुका पछाडि दाइजोको कारण देखाइएको छ । यसअघि गत माघमा पनि दाइजो नल्याएको बहानामा दिइने यातना सहन नसकेर जनकपुरकी २५ वर्षीया सीमा शर्माले दुई वर्षीया छोरी गौरीलाई पनि सँगै विष खुवाएर आत्महत्या गरेकी थिइन् ।

यी केही प्रतिनिधि घटना मात्र हुन् । दाइजोका नाममा तराईमा महिलामाथि हुने हिंसा र यातनाका घटना प्रायः भइरहन्छन् । दाइजोसँग जोडिएको परम्परालाई तोड्न राज्य तथा स्थानीयस्तरबाट समेत पहल नहुँदा कैयौँ महिलाहरूले अकालमा ज्यान गुमाउने तथा जीवनभर यातना भोग्नुपर्ने बाध्यता बनिरहेको छ ।

तराई–मधेशमा व्याप्त दाइजोलगायतका रुढीवादी रीतिलाई अशिक्षाको कारणले भन्ने हो भने यस्ता घटना प्रायः शिक्षित र हुनेखाने परिवारमा नै बढी हुने गरेको पाइन्छ । डाक्टर र इञ्जिनियर तथा समाजमा गन्यमान्य व्यक्तिहरूबाट दाइजोका नाममा हिंसा तथा यातनाका घटना हुने भएकाले यसलाई अशिक्षाको कारण भन्ने अवस्था पनि छैन । हालै डाक्टरको कुटाइबाट ज्यान गुमाएकी सुनिताकै कुरा गर्ने हो भने उनका डाक्टर श्रीमान शिक्षित मात्र नभएर विशेषज्ञसमेत हुन् । त्यसैले यो अशिक्षाको कारण होइन, बरु यसलाई कुसंस्कार र कुरीति भने भन्न सकिन्छ । छोरीको लागि पढेलेखेको ज्वाइँ खोज्नुभन्दा छोरीलाई सकेसम्म शिक्षित बनाउन सकियो भने दाइजोको समस्या पनि रहनँदैन र दाइजोकै कारणले छोरीलाई जन्म दिनै नपरोस् भन्ने सोचाइ पनि समाजमा परिवर्तन ल्याउन सकिन्छ । यस्तो सोचाइ तराई–मधेश क्षेत्रमा विकसित हुनु जरुरी छ ।

अझ अगाडि बढेर भन्ने हो भने गर्भ पहिचान गरी गर्भमा छोरी भएको पाइएमा गर्भपतन गर्नेसम्मका कामहरू मधेश क्षेत्रमा भइरहेको पाइन्छ । यस्तो विकृतिलाई रोक्न जनचेतनाको आवश्यकता छ । देशलाई बिखण्डन गरेर यस्तो चेतना जागरण हुन सक्दैन र साथै कुनै छिमेकी देशको कृपादृष्टिले पनि यो चेतनाको जागरण हुन सक्दैन । त्यसैले मुख्य कुरा समाजलाई प्रशिक्षित गर्ने हो । छोरीलाई अनिवार्य शिक्षा मधेशी समुदायमा विशेष गरी आवश्यक छ । नारी र पुरुषको हैसियत समान छ भन्ने कुरा बुझाउन सक्नु नै महत्वपूर्ण पक्ष हो ।

सामान्यतः समाजलाई सकारात्मक बाटोमा डो¥याउने समुदायका रूपमा शिक्षित समूहलाई लिइने गरिन्छ । जबकी तराई–मधेशको हकमा यो ठ्याक्कै उल्टो हुन जान्छ । मधेशमा व्यक्तिको शिक्षाअनुसार उसले पाउने दाइजो तय हुन्छ । त्यसैले तराइको हकमा कुरा गर्दा शिक्षित समूहको दुरूपयोग भएको देखिन्छ । कूसंस्कार र कूसंस्कृतिको विरोध र अन्त्य गर्नुपर्ने समुदायबाटै यसको प्रवद्र्धन भइरहेकाले अन्य समुदायमा यसले झन् ठूलो समस्या ल्याउनु स्वाभाविक नै हो ।

मधेशको हकमा दाइजो जनचेतनाको अभावले चलेको प्रथा पनि होइन । चेतनास्तर माथि उठेका, आर्थिक रूपमा सम्पन्न र शिक्षित मात्र नभएर समाजका गन्यमान्य र समाजलाई राम्रोसँग बुझेकाहरूले नै दाइजोलाई प्रवद्र्धन र अनुशरण गरिरहेकाले यसलाई जनचेतनाको अभाव भन्न मिल्दैन । बरु यो पढेलेखेका र समाज बुझेकाहरूबाट संरक्षित कुसंस्कार र कुरीति हो । जबसम्म मधेशमा दाइजोका नाममा आमा, दिदीबहिनीहरूलाई जलाइन्छ, मारिन्छ र यातना दिइरहिन्छ, समग्र तराईको विकास पनि त्यति नै चुनौतीपूर्ण हुने निश्चित छ । जुन समाजमा नारीको इज्जत गरिदैन त्यो समाज प्रायः पछि नै परिरहन्छ । मधेशको हकमा यो कुरा अझ सशक्त रूपमा लागु हुन्छ ।

भारतसँग सीमा जोडिएको नेपालको दक्षिणी भूभागमा भारतको संस्कार प्रत्यक्ष रूपमा परेको देखिन्छ । दाइजो प्रथाको अत्यन्त नराम्रो संस्कार नेपालसँग सीमा जोडिएका भारतको उत्तरी क्षेत्रका समाजमा पाइन्छ । नेपालको तराई–मधेशमा भारततिरबाटै धेरैजसो वैवाहिक सम्बन्ध कायम रहने गरेको छ । त्यसैले तराईमा विभिन्न बहानामा महिलामाथि हुने दमन, अत्याचार, बलात्कार र हत्याका घटनालाई नियन्त्रण गर्न राज्य नै कम्मर कसेर लाग्नुपर्छ । समाजको अग्रपंक्तिमा हुनेहरूबाटै संरक्षण भइरहेको कुरीतिको अन्त्यका लागि राज्य नै कठोर ढंगले नलागेसम्म अझै लामो समयसम्म पनि तराईमा महिलाहरूमाथि विभिन्न बहानामा हुने हिंसा र हत्याका घटनाले निरन्तरता पाइरहने छन् । त्यसैले यसतर्फ राज्य र समाज परिवर्तनका सम्वाहक मानिने युवाहरू जुट्न आवश्यक छ ।[email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here