विप्लव आन्दोलनले पनि प्रधानमन्त्रीलाई एकपटक झुटो सावित गरिदिने भो !

175

– चन्द्रप्रकाश बानियाँ

विक्रमको पात्रोमा कुनै कुनै महिना त ३२ दिनका पनि हुन्छन् । यो बर्षको अन्तिम महिना भने दुर्भाग्यबस, ३० दिनको मात्रै परेछ । विप्लव नेकपालाई पूर्णरूपमा नियन्त्रणमा लिने प्रधानमन्त्री आफैले तोकेको समयसीमा अब दुई हप्ता पनि बाँकी रहेन । यो बाँकी समयमा विप्लव समूह सरकारको नियन्त्रणमा आउने सम्भावना देखिदैन । प्रधानमन्त्रीको वचन अर्को एकपटक झुठो सावित हुने परिस्थिति निर्माण हुनु दुर्भाग्यको विषय हो । तीन महिनामा माओवादी आन्दोलनलाई ठेगान लगाउने लक्ष लिएर मैदानमा उत्रेको तत्कालीन शाही नेपाली सेनाले झण्डै पराजयको सामना गर्नुपर्ने अवस्थामा पुगेको थियो । बेलैमा १२ बुँदे दिल्ली सम्झौता नभैदिएका भए र मैदानमै हारजितको फैसला हुने परिस्थिति उत्पन्न भएका भए शाही सेना पराजित हुने मात्रै होइन, विघटित हुदैनथ्यो भन्न कसैले सक्दैन । माओवादीइतर राजनीति जसरी जिल्ला सदरमुकाम र शहरमा थिग्रिएको थियो झण्डै संयुक्त सुरक्षा फौजको स्थिति पनि त्यस्तै थियो । संयुक्त सुरक्षा फौजको नाम पाएको पुलिस, प्रशासन र सेनाको संयुक्त शक्ति आफै सुरक्षाघेरामा सीमित हुँदे गएको थियो । दिनको उज्यालोमा जिल्ला सदरमुकाम भन्दा उता पाँच किमि वरपर गर्न पनि खुट्टा कमाउन थालिसकेको थियो । म्याग्दी जिल्ला सदरमुकाम वेनीबजारमा रात्रीगस्तीमा रहेको सैनिक टोलीले जीन्दगी र मृत्युबीच झुल्दै गरेको सैनिकजीवनको बारेमा निराशाजनक गीत गाएको विषयलाई अखवारीलेखनको विषय बनाएवापत स्पष्टिकरण दिनुपरेको घटना स्मरणमा आजपर्यन्त ताजै छ ।

माओवादी विरुद्ध सेना परिचालन गर्ने अनुमति नपाएका कारणबाट दरबारसँग रुष्ट बनेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला राजसंस्था विरुद्धको मोर्चावन्दीको लागि जीन्दगीभर आफैले घृणा गर्दै आएको माले, मसाले, मण्डलेहरूसँग घाँटी जोड्न वाध्य हुनुपरेको घटना नेपाली समाजले बिर्सिसकेको छैन । तत्काली माओवादी र गिरिजा काँग्रेसको घाँटी जोडिने तारतम्य नमिलेका भए नेपालबाट यति चाँडै राजसंस्था इतिहासको विषय बन्दैनथ्यो । माओवादी नेताहरूको टाउकाको मूल्य तोक्ने अर्का प्रधानमन्त्री देउवाले अन्तिमपटक प्रमको कुर्ची प्राप्त गर्न उनीहरूकै सहयोग लिनुपर्ने अवस्थामा पुगेको घटना पनि पुरानो भैसकेको छैन । माओावादी नेताहरूले पुरानो इवि नबिर्सिदिएका भए देउवाको सत्तारोहण जुर्ने सम्भावनै थिएन । नेताको टाउको राखेर ल्याएको झोलाभरी पैसा राखिदिने देउवा सरकारको लालचमा एउटै नेपाली फसेन । बरु त्यसले देउवाको निधारमा कहिल्यै नमेटिने कालो टिका लागाइ दियो । प्रजातन्त्र दरबारमा बुझाएको कलङ्क समेतको भागीदार बन्नुपर्ने कारण पनि माओवादी त्रासले सिर्जना गरेको थियो । तत्कालीन माओवादीले निकै बलियो शक्ति आर्जन गरिसकेको थियो भन्ने कुरा तत्कालीन सत्ताले स्वीकार्नुपर्ने परिस्थिति उत्पन्न भएको थियो । साँचो कुरा गर्ने हो भने स्वयम् माओवादीले कल्पना गरेको भन्दा बढी शक्ति आर्जन गरेको थियो । दुबै प्रहरी फोर्सहरू पूर्णरूपमा पराजित भैसकेका थ्एि र तत्कालीन शाही सेना समेत हात उठाउनुपर्ने स्थितिमा पुगिसकेको थियो । तत्कालीन माओवादीले आम जनताको समेत विश्वास आर्जन गरेको थियो भन्ने कुरा २०६४ को निर्वाचन परिणामले प्रमाणित गरिदिएको थियो । बरु आफ्नो शक्ति सामथ्र्यको राम्रो मूल्याङ्कन स्वयम तत्कालीन माओवादीको नेतृत्वले गर्न सकेको रहेनछ । राम्रो मूल्याङ्कन गरेका भए सम्झौतामा आउँदैनथ्यो होला ।

उतिबेला ‘तीन महिनामा माओवादी सिध्याउँछु’ भनेको तत्काली शाही सेनाको आफ्नै अस्तित्व झण्डै समाप्त हुने परिस्थिति सिर्जना भएको थियो । सायद, त्यो उदाहरण वर्तमान सत्ताले बिर्सिसकेको रहेछ कि ? वर्तमान प्रधानमन्त्रीले यही बर्षको चैत महिनाभित्र विप्लव नेकपालाई खोरमा थुनिसक्ने घोषणा गरेका छन् ! हुनत सार्वजनिक स्थलमा उभिएका हाम्रा प्रधानमन्त्रीको हातमा माइक्रोफोन प¥यो भने आफैलाई समेत बिर्सने वानी छ । त्यसैले समयसीमा तोकेर घोषणा गरिएका योजनाहरूको असफलताहरूको गिन्ती गोटामा होइन, दर्जनमा गर्नुपर्ने अवस्था छ । हाम्रा प्रधानमन्त्रीले तोक्ने समयसीमाहरू “छेपारोको उखान” भनेजस्तै परिहासका विषय बन्दै आएका छन् । प्रधानमन्त्रीका सार्वजकि प्रतिबद्धता र योजनाहरू पूरा हुँदै गएको भए आजसम्म नेपालीहरूका चुलाबाट ग्यास सिलिण्डरहरू गायव भैसकेका हुनेथिए । खाडीको तेल विस्थापित भैसक्नेथ्यो । देशको उत्तरदक्षिण, पूर्वपश्चिम रेलसञ्जाल विस्तारित भैसकेको हुनेथियो । पानीजहाज परिवहनको नेपाली अुनभवले पनि तीन महिना नाघिसकेको हुनेथियो । देश खाद्यान्नमा अत्मनिर्भर भैसकेको हुनेथियो । हावाबाट उत्पन्न विजुलीले भारतीय जलविद्युतलाई विस्थापित गरिसक्थ्यो । हो, हवाइगफ दिने प्रधानमन्त्रीको पुरानो वानीले एउटा फाइदा भने भएको छ । प्रधानमन्त्रीले आज के बोले अथवा भोलि के बोल्लान् भनेर गम्भीतापूर्वक सुन्नु र प्रतीक्षा गर्नु नपर्ने भएको छ । सरकारले घोषणा गरिसकेको हुनाले यो वा त्यो समयसिमाभित्र अमुक सुविधा प्राप्त हुनेछ भनेर भनेर मुुलुकले आशा गर्दैन ।

विप्लव माओवादीलाई ठेगान लगाउँछु भनेर प्रधानमन्त्रीले तोकेका समयसिमाको अवधि दुईहप्ता मात्र बाँकी छ । नेपाली समाजले प्रधामन्त्रीको प्रतिबद्धता सम्झनुपर्ने आवश्यकतै ठानेको छैन । किनकि काम सम्पन्न गर्नेगरी बोल्ने वानी छैन । आम जनसाधारणले प्रधानमन्त्रीको बोलीको हेक्का राख्दैनन् । त्यसैले भूईंतहका कार्यकर्ताहरू सरकारको ढाँट्ने वानीका कारणबाट जनताका बीचमा जिल्लिनुपर्ने र लज्जित हुनुपर्ने अवस्था उत्पन्न हुदैन । विप्लव माओवादीले क्रान्ति गर्छ भन्ने कुरामा नेपाली जनतालाई विश्वास छैन । वर्तमान सरकारले सजिलैसँग नियन्त्रणमा लिनसक्छ भन्ने कुरा पनि पत्याएको छैन । जनताको न सरकाप्रति भरोसा छ न विप्लप्रति आस्था विश्वास छ । जनतालाई त्रसित हुनुपर्ने विडम्बना के मात्रै रहेको छ भने डा. बाबुराम भट्टराईले भनेजस्तो विप्लव माओवादीलाई समाजबाट अलग्याउन सकिने अवस्था छ न सरकारले भनेजस्तो १/२ महिनामै निमिट्यान्न हुनेगरी मास्न सम्भव छ । सरकार र विप्लवको क्रिया प्रतिक्रियाका गतिविधिले जनताको जीवन भने दुष्कर बनाउने छ । ठूलो स्रंख्यामा युवाशक्ति विदेश पलायन भएको हुनाले गाउँठाउँमा खेतिपाती गर्ने मानिसको खाँचोले उत्पादन हुन छोडेको छ । अर्थात विप्लव टोलीलाई पाल्नसक्ने हैसियत नेपाली गाउँहरूमा छैन । हप्काई तर्साई गाउँमा भित्रिने रेमिट्यान्सको केही अंश हातपरेपनि गाउँघरमा सामलतुमलको जोहो गर्न गाह्रो पर्नेछ । बजारबाट विप्लवका लागि रसदपानी बोकीदिने भरिया पनि गाउँमा पाउन गाह्रो छ । अरु तीन महिना विप्लव आन्दोलन तग्यो भने सुरक्षाफौजका तिघ्रा लककपकाउन थाल्ने निश्चित छ । तत्कालीन माओवादीको तर्सो भन्दा सुरक्षाफौजको अन्याय तत्कालीन समयमा नेपालीहरूको बीच असहनीय पिलो बनेको इतिहास पुनः दोहोरिने हो कि भन्ने त्रास नेपाली समाजमा स्पष्ट दृष्टिगोचर हुन थाजलेको छ ।

तत्कालीन माओवादी आन्दोलनको असमयमै भएको मृत्युले नेपालीसमाजलाई खुसी बनाएको थियो । अर्थात माओवादी आन्दोलनले नेपाली समाजलाई ठूलो आशा जगाएको थिएन । एकदशकमै समाजलाई टट्टाउन थालिसकेको थियो । विप्लवले उही पुरानो बाटो समातेको कुरा जनतालाई रुचिकर नलाग्नु स्वाभाविक हो । जुनसुकै बाटोबाट किन नहोस् विप्लवको विद्रोह समन भएको हेर्ने चाहना समाजले राखेको छ । अर्थात अप्ठेरो पर्दा जनताले काँध थाप्ने सम्भावना क्षीण छ । आन्दोलनको अस्तित्व कति टिक्छ भन्ने कुरा वास्तव उसले जनता र समाजमा कायम गर्नसक्ने त्रासमा आधारित हुनेछ । जनताको मन जितेर संगठनलाई बलियो बनाउने कूशलता विप्लव नेकपाले प्रदर्शन गर्छ भनेर पत्याउन सकिदैन । “यथा गुरु, तथा चेला” भनेजस्तै मातृसंस्था तत्कालीन माओवादी नै हो । विप्लव आन्दोलनले उही पुरानै बाटो हिड्ने लक्षण देखाएको छ । त्यो बाटोले कहाँ पु¥याउँछ भन्ने कुराको भविष्यवाणी गर्न सकिदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here