इजरायलमा संसदको निर्वाचन आज

221

एजेन्सी / इजरायलमा मङ्गलबार १२० सदस्यीय संसद (नेसेट) का लागि चुनाव हुने भएको छ । चार पटक प्रधानमन्त्री भइसकेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि यसपटक चुनावी मैदानमा छन् । भ्रष्टाचारको आरोपका कारण विवादमा मुछिएका प्रधानमन्त्री नेतान्याहूलाई पूर्व सैनिक प्रमुख बेन्नी गान्जले यस पटकको चुनावमा कडा चुनौती दिने अनुमान गरिएको छ । खासै राजनीतिमा त्यति अनुभव नभएका पूर्व सैनिक प्रमुखलाई बेन्जामिन नेतान्याहूलाई परास्त गर्न निकै कठिन हुने प्रक्षेपणहरु पनि आएका छन् । मतदान निकै प्रतिस्पर्धी हुने भएकाले एकलौटी सरकार गठन गर्न कठिन हुने जनमत सर्वेक्षणहरुले देखाएका छन् । तर प्रधानमन्त्री नेतान्याहूले नै गठबन्धन सरकार बनाउन सक्ने सम्भावना रहेको देखाएका छन् ।

चुनावको अन्तिम नतिजा भने बुधबार बिहान प्राप्त हुने भएको छ । पूर्व सैनिक प्रमुख गान्जले प्रधानमन्त्री नेतान्याहूले मुलुकमा विभाजनकारी राजनीति गरेको आरोप लगाउँदै प्रधानमन्त्री नेतान्याहूको सुरक्षा सेवाप्रतिको धारणा नै गलत रहेको बताएका छन्। यस चुनाव ६९ वर्षीय वरिष्ठ नेता नेतान्याहूका निम्ति धेरै किसिमबाट जनमतसङ्ग्रह सरह रहेको छ । नेतान्याहूले इजरायलको सुरक्षा र आर्थिक वृद्धिका निम्ति विशिष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान दिने गरिएको छ । तर नेतान्याहूको बढ्दो प्रचारबाजी र भ्रष्टाचारको आरोपका कारण कतिपय जनता परिवर्तनको पक्षमा उभिएका छन् ।

यसपटकको चुनावी अभियानका क्रममा प्रधानमन्त्री नेतान्याहूले विपक्षीहरुमाथि कटुतापूर्ण चुनावी नारा प्रयोग गरेका छन् । चुनावी अभियानलाई नजिकबाट हेरिरहेका टिप्पणीकारहरुले अरब इजरायली र अरुमाथि प्रधानमन्त्री नेतान्याहूले चरम दुश्मनका रुपमा व्यवहार गरेकामा पनि आलोचना गरेका छन् । नेतान्याहूले चुनाव हुनु तीन दिनअघि मात्र एउटा विवादास्पद प्रतिज्ञा गरेका छन् । आफू विजयी भएमा पश्चिमी किनारामा रहेका इजरायली बस्तीलाई इजरायलमै गाभ्ने नेतान्याहूले घोषणा गरेका छन्।

इजरायलको सीमालाई पश्चिमी किनारामा विस्तार गर्ने प्रधानमन्त्री नेतान्याहूको विवादास्पद भनाईले प्यालेस्टिनीसँग यसअघि भएको दुई– देश समाधानको आशालाई समाप्त गर्ने स्पष्ट छ । दुई–देशको मान्यता दिने, इजरायल, राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको यसअघिको प्रतिबद्धतालाई यो घोषणाले अबमूल्यन गरेको छ ।इजरायलका अति दक्षिणपन्थीहरुको यो लामो समयदेखिको चाहना र कदम हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here