लिबियाबाट नेपाली सैनिक फिर्ता गराउन राष्ट्रसंघलाई पत्र

200

 काठमाडौं / सरकारले लिबियास्थित संयुक्त राष्ट्रसंघीय कार्यालय सुरक्षामा खटिएका नेपाली सैनिकलाई फिर्ता गराउन राष्ट्रसंघलाई पत्र लेखेको छ । विद्रोही समूह लिबियन नेसनल आर्मी (एलएनए)ले राजधानी त्रिपोलीमा आक्रमण गरेसँगै राष्ट्रसंघीय कर्मचारी फिर्ता भएका छन् । तर, राष्ट्रसंघ महासचिवका विशेष प्रतिनिधि गासन सलामे त्यहीँ रहेका कारण उनको सुरक्षार्थ नेपाली सैनिक खटिएका छन् ।

‘परिस्थितिको आकलन गरेर सरकारको तहबाट राष्ट्रसंघीय निकायलाई पत्राचार भइसकेको छ,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी यामप्रसाद ढकालले नयाँ पत्रिकासँग भने । त्यहाँ रहेका राष्ट्रसंघीय कार्यालय अधिकारीहरू छिमेकी देश ट्युनिसिया पुगेका छन् । नेपाली सैनिकले त्रिपोलीस्थित राष्ट्रसंघीय मिसन कार्यालय र विशेष प्रतिनिधिको सुरक्षा गरिरहेका छन् । नेपाली सैनिकलाई विद्रोही सैनिकबाट सुरक्षा खतरा रहेको सेनाको विश्लेषण छ ।

‘विद्रोही समूहले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नो फ्लाइ जोन’ घोषणा गरेका छन् । तर, ट्युनिसिया जाने सडकमार्ग बन्द भएको छैन,’ सैनिक प्रवक्ता ढकालले भने, ‘त्यहाँको युएन मिसनका केही स्टाफलाई सडकमार्गबाट ट्युनिसिया पुर्‍याउन थालिएको छ । तर, हाम्रा सैनिक मिसन हेडक्वार्टर र कार्यरत स्टाफको सुरक्षामा त्यहीँ खटिएका छन् ।’ मिसनमा दुई सय ३१ जना नेपाली शान्ति सैनिक कार्यरत छन् । उनीहरू सबै सुरक्षित रहेको प्रवक्ता ढकालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here