अब देशभरिका सरकारी जग्गाबारे छानबिन हुने

138

काठमाडौं  / मन्त्रिपरिषदले व्यक्तिका नाममा सारिएका मुलुकभरका सरकारी जग्गा बारे छानबिन गर्न भूमिव्यवस्था र गृह मन्त्रालयलाई आदेश दिएको छ ।

केही दिनअघि मन्त्रिपरिषदले सरकारी जग्गाको गलत प्रयोग भएको भए त्यसको छानबिन गर्न, सरकारी जग्गाको अभिलेख संकलन गर्न र सरकारी जग्गाबारे कस्तो नीति बनाउने भन्नेबारे सुझाव दिन आयोग गठन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषदले दिएको त्यस्तो टिओआर पूरा गर्ने आयोग कसरी बनाउने भनेर अहिले गृह मन्त्रालयसँग भूमि व्यवस्था मन्त्रालयले अनौपचारिक छलफल गरिरहेको सचिव गोपीनाथ मैनालीले बताए । ‘बालुवाटारको ललिता निवासको सन्दर्भमा प्रतिवेदनपछि अन्त पनि यस्तै भएको छ कि भनेर मन्त्रिपरिषदले छानबिन आयोग बनाउने निर्णय गरेको छ,’ मैनालीले थपे, ‘हामीलाई आयोग कसरी बनाउने भन्ने गृहकार्य गर्न निर्देशन आएकाले गृह मन्त्रालयसँग अनौपचारिक छलफल सुरू गरेका छौं।’

बालुवाटारको सरकारी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा गरेको भन्दै गृह मन्त्रालयमा उजुरी परेपछि सरकारले त्रितालको नेतृत्वमा छानबिन आयोग बनाएको थियो। उक्त आयोगले गत मंसिरमा प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

प्रधानमन्त्री निवास बालुवाटारकै सरकारी जग्गा व्यक्तिका नाममा सरेको तथ्य पत्ता लगाएको उक्त आयोगको सुझावअनुसार सरकारले मुलुकका अन्य भागमा रहेका सरकारी जग्गाबारे पनि छानबिन गर्ने भएको छ।

उक्त आयोगले बालुवाटारको जग्गा सरकारी भएको निष्कर्ष निकालेको छ। त्यो सरकारी जग्गा कसले कसरी व्यक्तिगत नाममा गरेको छ त्यसबारे सिआइबीलाई छानविन गर्न दिनु र मुलकभर यस्ता जग्जा धेरै भएकाले तिनको पनि छानबिन गर्न त्रिताल आयोगले सुझाव दिएको थियो ।

वि.संं २०१७ सालमा राजा महेन्द्रले सैनिक ‘कू’ मार्फत् सत्ता हातमा लिएपछि कांग्रेस नेता सुवर्णशमसेर राणा र उनका उनका छोरा कञ्चनशमशेर राणाको नाममा रहेको १४ रोपनी जग्गा राज्यविरोधी काम गरेको आरोपमा पञ्चायतले जफत गरेको थियो। उनको परिवारकै नाममा रहेको २८५ रोपनी जग्गा भने वि.संं २०२१ सालमा सरकारले मुआब्जा दिएर अधिग्रहण गर्‍यो।

सुवर्णशमसेरका परिवारको यही २८५ रोपनी जग्गामध्ये १७२ रोपनीमा अहिले बालुवाटारस्थित प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख निवास र नेपाल राष्ट्र बैंकको कार्यालय छ। बाँकी ११३ रोपनीमध्ये धेरै जग्गा भू-माफियाहरूले कानुन उल्लंघन गरी मालपोतका कर्मचारीलाई मिलाएर आफ्ना नाममा नामसारी गरेका छन् ।

यही ११३ रोपनीमध्ये ८ आना जग्गा आफ्नो नाममा नामसारी गरेको भनेर अहिले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल पनि यो विवादमा मुछिएका छन्। उक्त जग्गा उनका छोरा नवीनको नाममा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here