हेटौंडा / गृहमन्त्री रामबहादुर थापा (बादल)ले संविधान विपरित हिंसात्मक गतिविधि गर्ने कसैलाई पछि छुट नभएको जनाएका छन् ।
तीन नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन बुधबार हेटौंडा पुगेका थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै हिंसात्मक गतिविधिमा संलग्न जो कोहीलाई पनि कारवाही गर्ने चेतावनी दिएका छन् । उनले भने ‘असंवैधानिक, गैह्रकानूनी र नियम विपरित ध्वंसात्मक गतिविधि गर्ने छुट कसैलाई छैन।’
कानूनअनुसार नै विप्लव समुहमाथि प्रतिबन्ध लगाएको उनले जनाए । ‘विप्लव समुहमाथि प्रतिबन्ध लगाए पनि बार्ताको ढोका खुल्ला छ’, थापाले भने, ‘ उनीहरुलाई मुलधारको राजनीतिमा ल्याउन प्रयत्न जारी छ।’–उनले भने
सरकारले सुरक्षा चुनौतीहरु पन्छाउँदै गएको जनाउँदै उनले सुरक्षा व्यवस्था मजदुबत हुँदै गएको दाबी गरे। भ्रष्टाचार, अनियमितता, गुण्डागर्दी रोक्न सरकार लागि परेको थापाको भनाइ छ।
संघीय प्रहरी ऐन बन्ने क्रममा रहेकाले पुरानै प्रक्रिया अनुसार चलिरहेको बताउँदै उनले कार्यकारी आदेशमार्फत तीनै तहको सरकारसँग समन्वय गरेर शान्ति सुरक्षाको काम भइरहेको बताए। साथै देशमा लगानी गर्ने अनुकुल वातावरण भएकाले अब देश आर्थिक समृद्धिको दिशमा अघि बढेको उनको भनाइ छ।