कोमाबाट २७ वर्षपछि ब्यूँझिइन् महिला

24

एजेन्सी /संयुक्त अरब इमिरेट्स (यूएई) की एक महिला २७ वर्षपछि निकै चमत्कारिक ढङ्गले कोमाबाट ब्यूँझिएकी छिन् । सन् १९९१ मा भएको सडक दुर्घटनामा सख्त घाइते भएकी थिइन् । मुनिरा अब्दुल्ला, दुर्घटनाका बेला ३२ वर्षकी थिइन् । छोरालाई स्कूलबाट लिएर फर्कदा उनी चढेको कार बससँग ठोक्किँएर उनको मस्तिष्कमा गहिरो चोट लागेको थियो । ओमा वेबेइर, दुर्घटनाका बेला चार वर्षका थिए । कारको पछाडि दुई आमा छोरा बसेका थिए । आमाले छोरालाई अँगालो हालेका कारण उनलाई अलिकति पनि चोट लागेन ।

देवरले चलाइरहेका कारको पछाडि बसेकी मुनिरालाई गहिरो चोट लाग्यो तर गत वर्ष उनको जर्मनको एक अस्पतालमा होस खुल्यो । ओमरले युएईको एक पत्रिका ‘द नेशनल’ सँग आफ्नी आमाको स्वास्थ्यमा आएको सुधार र उक्त दुर्घटनाबारे जानकारी दिएका छन् ।

‘आमाले मलाई बचाउनका लागि अँगालो हाल्नुभयो’

‘मैले कहिले पनि हरेस खाइनँ । आमा कुनै दिन उठ्नुहुन्थ्यो भनेर मलाई जहिल्यै महसुस हुन्थ्यो,’ ओमारले सोमबार उक्त पत्रिकासँग भने । ‘यस्तो स्थितीमा भएका आफन्तबाट आशा मार्न नहुने र उहाँहरुको मृत्यु भइसकेको नठान्नका लागि मैले आमाबारे जानकारी दिइरहेको छु,’ उनले भने ।

‘मेरी आमा मसँगै पछाडिको सिटमा बस्नुभएको थियो । जब उहाँले दुर्घटना हुन लागेको थाहा पाउनुभयो तब मलाई बचाउनका लागि झ्याप्प अँगालो हाल्नुभयो ।’ ओमारलाई टाउकोमा सामान्य चोट लाग्नुबाहेक खासै ठूलो केही भएन तर उनकी आमालाई भने निकै ठूलो चोट लाग्यो ।

वर्षौंको उपचारः

‘मुनिरालाई दुर्घटना भएको निकै लामो समयपछि मात्रै अस्पताल पुर्याइयो । पछि उनलाई लण्डन सारियो । त्यहाँ उनलाई ‘भेजिटेटिभ स्टेज’ मा भएको बताइयो । यस्तो स्थितीमा बिरामीले कुनै प्रतिक्रिया त दिँदैन तर पीडा भने महसुस गर्न सक्छ,’ द नेशनलले बताएको छ । त्यसपछि उनलाई उनी बस्दै आएको युएईको शहर एल एइनमा फर्काइयो । बीमाको आवश्यकता अनुसार उनलाई विभिन्न स्वास्थ्य सुविधाका लागि स्थानान्तर गरियो । उनी त्यहाँ केही वर्ष बसिन् । उनलाई ट्युबमार्फत् खाना खुवाएर जीवित राखियो । उनको फिजियोथेरापी गराइयो । यसमार्फत्, उनको माशंपेसी शिथिल नभई सक्रिय रहिरहे । सन् २०१७ मा आबुधाबीको सरकारी निकाय क्राउन प्रिन्स कोर्टले मुनिरालाई जर्मनीमा सार्ने अनुमती पायो ।

त्यहाँ उनको थुप्रै शल्यक्रिया गरियो । दुर्घटनापछि उनका हातखुट्टा निकै छोटा भएका थिए, ती मिलाउन पनि शल्यक्रिया गरियो । उनलाई ब्यूँझाउनका लागि विभिन्न औषधी दिइयो ।

‘गत वर्ष एक दिन बिहानै कसैले मेरो नाम बोलाएपछि उठेँ ।’

‘त्यो बोलाइ आमाको थियो । म खुसीले पागल झैं भएको थिएँ । मैले निकै वर्षअघि देखि यो क्षणको सपना देखेको थिएँ । उहाँले सबैभन्दा पहिले मेरै नाम बोलाउनु भएको थियो ।’

‘उहाँले प्रतिक्रिया दिन थाल्नुभएको छ । पीडा महसुस गर्न थाल्नुभएको छ र थोरै बोल्न पनि सक्नुहुन्छ,’ उनले भने ।

उनी आबुधाबी फिर्ता भइसकेकी छिन् जहाँ उनको फिजियोथेरापी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here