राष्ट्रिय जनता पार्टीको महाधिवेशन कात्तिक २८ गतेदेखि

23

जनकपुरधाम / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन कात्तिक २८, २९ र ३० गते हुने भएको छ । वैशाख ८ देखि १३ गतेसम्म काठमाडौंमा बसेको पदाधिकारी बैठकले कात्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि वैशाख ७ गते महाधिवेशन तोकिए पनि हुन सकेको थिएन । महाधिवेशन गर्नका लागि अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुरको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका सबै सदस्यहरु रहने गरी महाधिवेशन मूल आयोजक समिति र उनकै संयोजकत्वमा सबै पदाधिकारी सम्मिलित महाधिवेशन तयारी समिति गठन गरिएको छ । महाधिवेशन सम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार संयोजक ठाकुरलाई नै दिइने निर्णय बैठकले गरेको छ ।

यस्तै लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ । समितिमा सर्वेन्द्रनाथ शुक्ल, मानधोज ब्लग तामाङ, मालामती राणा थारु, राजकुमार थापा, केशव झा, रामलाल सुतिहार, हरेन्द्र यादव र अकवाल अहमदलाई सदस्यमा राखिएको छ । बैठकले भ्रातृ संगठनहरुलाई तत्काल समायोजन गरी पूर्णता दिने र व्यवस्थापन गर्ने निर्णय गरेको अध्यक्ष शरदसिंह भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रव्यापी आन्दोलन गर्ने निर्णय

बैठकले राष्ट्रव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । संविधान संशोधन गराउन, आन्दोलनकारीमाथि लगाइएको मुद्दा खारेज गराउन, सांसद रेशम चौधरीलगायत राजबन्दीलाई रिहा गराउन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउन सदन र सडकबाट तत्काल सशक्त राष्ट्रव्यापी आन्दोलन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै नेपालगंज घट्ना छानबिन गर्न बनेको पराजुली आयोगको प्रतिवेदन सार्वजनिक गराउन, सुशासन कायम गराउन, बलात्कारीहरुलाई कार्वाही गराउन, महँगी नियन्त्रण गराउन, भ्रष्टाचारी, कलोबजारीको पर्दाफास गराउन पनि आन्दोलन गरिने राजपाले जनाएको छ । समान विचारधारा र नीति मिलेका पहिचान र संघीयता पक्षधर पार्टीहरुसँग एकीकरण (मोर्चा) गठबन्धन गर्ने निर्णय गरेको राजपाले २०५४ सालमा ३४ हजार ९० जनाको नागरिकता प्रचलनमा नल्याउन सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशले राष्ट्रियतालाई कमजोर बनाउने भन्दै बैठकले दुःख व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here