दुईवर्ष भित्रै काठमाडौंमा स्काईरेल गुडाउने चिनियाँ कम्पनिबाट प्रस्ताव

102

काठमाडौं- चिनियाँ कम्पनी बेइजिङ चाइना एयर रेल ग्रुपले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्यो । लगानी बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखेको पत्रमा सो ग्रुपले काठमाडौंमा ‘स्काई’ रेल चलाउन इच्छा व्यक्त गरेको छ ।

सो ग्रुपले २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेश गरेको छ । ‘चिनियाँ कम्पनीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ र चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलसँग भएको छलफलका आधारमा काठमाडौंमा स्काई रेलको सम्भावनाबारे अध्ययन गरेको जनाईएको छ ।

उसले पहिलो चरणमा चक्रपथभित्र चलाउने र दोस्रो तथा तेस्रो चरणमा चक्रपथ बाहिर विस्तार गर्न सकिने जनाएको छ । काठमाडौंको चक्रपथमा ५ हजार यात्रुसम्म बोक्न सक्ने स्काई रेल चलाउन सकिने जनाइएको छ ।

चक्रपथभित्रै १४ किलोमिटर स्काई रेल चलाउन सकिने भन्दै कम्पनीले रुट प्रस्ताव गरेको थाहा भएको छ । एयरपोर्ट–तिनकुने–बानेश्वर–माइतिघर देखि त्रिपुरेश्वर हुँदै नारायणगोपाल चोकसम्म र त्यहाँबाट चावाहिल-गौशाला हुँदै एयरपोर्टसम्म बिस्तार गरिने जनाइएको छ ।

दोस्रो र तेस्रो चरणमा भने काठमाडौं र धादिङको सिमाना थानकोटसम्म र काठमाडौं–भक्तपुर खण्डमा समेत स्काई रेल चलाउन सकिने चिनियाँ कम्पनीको प्रस्ताव छ ।

चिनिया कम्पनिका अनुसार स्काई रेल मोनो तथा मेट्रो रेलको तुलनामा सस्तो हुने छ ।

स्काई रेलले अन्य रेलहरुको जस्तो धेरै ठाउँ लिँदैन । सडककै किनारामा वा सडककै बीच भागमा ठाउँ–ठाउँमा पोल गाडेर स्काई रेल चलाउन सकिनेछ । माथि रेल गुड्ने र तल सवारीसाधनहरु गुड्न सक्ने भएका कारण सडक जामको समस्या नरहने कम्पनीको दाबी छ ।

चिनिया कम्पनिले आफ्नै लगानीमा २ वर्षभित्र चक्रपथमा स्काई रेल निर्माण गर्ने दाबी गरेको छ । यसरी निर्माण भएको रेल २८ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने उसको प्रस्ताव छ । लगानीका लागि चैतमा काठमाडौंमा भएको लगानी सम्मेलनबाट आफू प्रभावित भएको कम्पनीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here