अभिनेत्री श्वेतालाई दोस्रो जीन्दगी, ट्यूमरको शल्यक्रिया सफल

108

 काठमाडौं / नयाँ चलचित्र ‘हेलो जीन्दगी’ छायाँकनका लागि लण्डन गएकी अभिनेत्री श्वेता खड्काको लण्डनमा चलचित्र छायाँकनको क्रममा असह्य पीडा भएपछि डाक्टरलाई देखाएको र ट्युमर रहेको थाहा भएको अभिनेत्री खड्काले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएकी हुन् । च्युँडोबाट तल्लो तथा घाँटीको माथिल्लो भागमा ट्यूमर भएको हो ।

डाक्टरले तत्कालै शल्यक्रिया गर्नु पर्ने भनेपछि लण्डनबाट भारतको दिल्ली आएर द्रुत प्रक्रिया मार्फत शल्यक्रिया गरिएको र अहिले आफू स्वास्थ्य लाभ गर्ने क्रममा रहेको उनले उल्लेख गरेकी छन् ।

अभिनेत्री खड्काले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सामाजिक सञ्जालमा गरेको भावनात्मक पोस्टमा लेखेकी छन्, ‘मेरो दोस्रो जीन्दगी, मसँग जीन्दगीले दोस्रो पटक खेल खेल्यो । भन्छन्, जीवन अनिश्चित छ, त्यो सत्य हो । थाहै हुँदैन कहिले के हुन्छ र सपनाहरु आफ्नै अघि विलिन हुन्छन् । म नयाँ चलचित्र हेलो जीन्दगीमा काम गर्न नसक्ने जानकारी गराउनु पर्दा निकै दुखी छु ।’

उनले अघि लेखेकी छन्, ‘लण्डन गएको केही दिनपछि असह्य पीडा भयो । डाक्टरलाई देखाउँदा ह्याकुलोमा ट्युमर रहेको बताए र त्यसलाई हटाउनु पर्ने भने । तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने भनेपछि दिल्ली आएर उपचार गराएकी छु ।’

उनले आफ्नो शल्यक्रिया गर्ने डाक्टर सुरेन्द्रकुमार दाबासलाई धन्यबाद दिएकी छन् । यस्तै नेपालबाट गएका डा। पंकजले पनि आफ्नो उपचारमा सहयोग गरेको उनले उल्लेख गरेकी छन् । शल्यक्रिया सफल भएको उनले जानकारी दिएकी छन् ।

यो घटनाले आफूलाई जीन्दगी अनिश्चित रहेको जानकारी फेरि गराएको उनले उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘हेलो जीन्दगी चलचित्र टिमसँग माफी चाहन्छु किनकी मैले काम गर्न सकिन । यस्तै बिएलके अस्पताल र डाक्टरहरुलाई धन्यबाद ।’

उनले लेखेकी छन्, ‘मैले फेरि एकपटक जीन्दगीको भयानक अवस्थामाथि जित हाँसिल गरेकी छु ।’ उनका श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको डिप निमोनियाका कारण २०७१ साल साउन २५ गते निधन भएको थियो ।

तस्बिरः श्वेता खड्काको फेसबुक पेजबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here