माथिल्लो त्रिशूली थ्री ‘ए’ को संरचनाको परीक्षण सफल

96

काठमाडौं- माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको संरचनाको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नु पर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो ।

सोमबार विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्वाइनमा झारिन्छ र त्यसबाट जेनेरेट, कन्ट्रोल प्यानेल लगायतका उपकरणहरु डिजाइन अनुसार चलेरनचलेको हेरिन्छ । विद्युत् भने उत्पादन हुँदैन ।

रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाबाट ३० मेगावाट (पहिलो युनिट) विद्युत् मंगलबारबाट उत्पादनको लक्ष्य राखिएको थियो । तर, आयोजननाका संरचना तथा त्यहाँ रहेका उपकरणहरुको परीक्षणमा समय लागेकाले व्यवसायिक रुपमा विद्युत उत्पादन केही ढिलाइ भएको घिसिङले जनाए ।

उनले वैशाखभित्र (१५मे २०१९)मा व्यवसायिक रुपमा एउटा युनिटबाट विद्युत् उत्पादन हुने जनाएका छन् ।
दोस्रो युनिट (३० मेगावाट)को असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण सकिएको छ ।

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो ।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग १४ जेठ २०६७ (२८ मे २०१०) मा ठेक्का सम्झौता भएको थियो ।

१७ जेठ २०७१ (३१ मे २०१४) भित्रमा निर्माण सक्ने गरी सिजिजिसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएपछि म्याद १६ असार २०७३ (३० जुन २०१६) सम्म थपिएको थियो ।

भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ ९३० अप्रिल २०१९० सम्म थप गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here