विदेशीलाई नागरिकता वितरण गर्दै गए नेपालले श्रीलंका जस्तै नियति भोग्नुपर्ने चेतावनी

39

काठमाडौं / श्रीलंकामा बिभिन्न चर्च र होटेल गरी आठ स्थानमा बिष्फोट गरेर आतंकवादी संगठनले बितण्डा मच्चाएकाबेला नेपालमा पनि त्यस्तै किसिमको आक्रमण हुनसक्ने भन्दै त्रास बढेको छ । श्रीलंका सरकारले केही दिनअघि श्रीलंकामा भएको आतंकवादी आक्रमणको जिम्मा अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट ‘आईएस’ ले लिएको दावी गरेको छ।

आतंकवादी संगठन आइएसका कार्यकर्ता नेपालमा पनि सक्रिय रहेको र उनीहरुले खुलेआम नागरिकतासमेत पाउन थालेको बहुलराष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोरकुमार विश्वासले नेपाल आजसंगको संवादमा दाबी गरेका छन् ।

विगतदेखि नै सच्चा नेपालीलाई अल्पमतमा राखेर विदेशीलाई नागरिकता दिने गरिएकोमा हाल आएर आतंककारीलाई नै नागरिकता बाँड्न थालिएको विश्वासले दाबी गरेका छन् । यो स्थितिले कुनैपनि दिन कुनैपनि समय नेपालीले श्रीलंका जस्तै नियती भोग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न  भन्दै विश्वासले चिन्ता व्यक्त गरेका छन् ।

अध्यक्ष विश्वासले मुलुकमा इतिहासदेखि नै विदेशीलाई नागरिकता दिंदै आएकाले अब त्यसको छानबिन गर्नुपर्नेमा जोड दिए । ‘ राजेन्द्र महतोदेखि सबै शंकास्पद व्यक्तिहरुको नागरिकता छानबिन हुनुपर्छ । यसका लागि नागरिकता छानबिन कमिटी बनाउन जरुरी छ । ’विश्वासले भने ।

जथाभावी नागरिकता वितरण मात्रै पनि रोक्न सकियो भने मुलुकको राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुन्छ ।

नेता विश्वासले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको टकरावका कारण मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावनालाई पनि औंल्याएका छन् ।  प्रचण्ड पनि ओलीप्रति ढुक्क छैनन् । प्रचण्डको अर्को नाम भनेको ढाँटछल, अविश्वास र धोका हो । ओली र दाहालबीच प्रधानमन्त्रीको कार्यकाल पनि आधा–आधा चलाउने सहमति छ । करिब १४ महिना ओलीले खाइसके । आफनो कार्यकाल पूरा भएपनि ओलीले छोड्ने छैनन् । त्यो बेला प्रचण्ड बिच्किनेछन्, त्यसैबेला नेकपा पार्टी फुट्ने छ र मुलुक मध्यावधि निर्वाचनमा जानेछ ।

नेता विश्वासले संविधान संशोधन मधेशी दलहरुको दवावमा नभइ मुलुकको आवश्यकता अनुसार गर्न सरकारलाई सुझाव दिए । राज्यको पुनःसंरचनाको व्यवस्था र सातवटा प्रदेशको सीमाङ्कनमा फेरबदल गर्न आवश्यक रहेको विश्वासको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here