औषधि खानेबित्तिकै बालकको मृत्यु भएपछि कान्ति बाल अस्पताल तनावग्रस्त

217

 काठमाडौं  / उपचारका लागि लगिएका बालकको ज्यान गएपछि महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा तनाव भएको छ। बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लगिएका बालाजुका ८ वर्षे बालक अंकित खत्रीको ज्यान गएपछि तनाव सिर्जना भएको हो।

पेट दुखेपछि मंगलबार अंकितलाई उनका बुवाआमाले कान्ति बाल अस्पतालमा जाँच गराउन ल्याएका थिए। डाक्टरले ग्यास्ट्रिक भएको भन्दै खाली पेटमा खानका लागि औषधि दिएको अंकितकी काकी मधु केसीले जनाइन्।

 ‘हिजो डाक्टरले दिएको औषधि डाक्टरकै निर्देशन अनुसार आज बिहान खाली पेटमा खाएका हुन्। त्यसपछि बाबुलाई बान्ता भयो। चक्कर लाग्यो।’ चक्कर लागेर लडेका अंकित पूरै निलो भएको र लगत्तै वीर अस्पताल लगेको मधुले जनाइन्। वीर अस्पतालले त्रिविमै रिफर गरेपछि बुधबार बिहान साढे सात बजे कान्ति अस्पताल नै ल्याएको उनले जानकारी दिइन्।

कान्तिका डाक्टरले छाती थिचेर बच्चा जिउँदै छ भनेको र पछि रगत परीक्षण पनि गरेको मधुले देश सञ्चारसँग भनेकी छन्। तर त्यसको केही बेरपछि अंकितको निधन भएको भनेर जानकारी दिएको उनले जनाएकी छन्।

डाक्टरकै लापरवाहीले अंकितको निधन भएको उनका आफन्तले आरोप लगाएका छन्। डाक्टरले दिएको औषधि उनीहरुले नै भने अनुसार खाएपछि समस्या देखिएको आफन्तको भनाइ छ। घटनापछि त्रिवि अस्पतालमा बालकका आफन्तले प्रदर्शन गरेका छन्।

प्रहरीले होहल्ला गरेको भन्दै बालकका बुवा धनवीर खत्रीलाई केही बेर नियन्त्रणमा लिएको थियो। अहिले अस्पताल प्रशासन र प्रहरी प्रशासनको बैठक अस्पतालमै बसेको छ। तर त्यो छलफलमा बालकका आफन्त छैनन्।

अस्पतालका निदेर्शक डा। गणेश राईले घटनाबारे सत्य तथ्य बुझिने र अवस्था शान्त पर्ने प्रयासमा भइरहेको जनाएका छन् । देशसञ्चारमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here