देशमा शासन व्यवस्था फेरिए पनि शासनशैली फेरिएन

113
Nisha Tamang

– निशा तामाङ

प्रजातन्त्र र लोकतन्त्रकालागि भन्दै नेपाली जनताले २४० वर्षदेखिको राजतन्त्रीय शासन विरुद्ध आन्दोलन गरेका थिए । त्यही आन्दोलनले राजाले शासनसत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बाहिरिएका थिए । राजतन्त्रको अन्त्य गर्दै शासन सत्ता जनताले आफ्नो हातमा लिएर नेपालको इतिहासमा लोकतन्त्र ल्याउन सफल भएका थिए । राजाको निरंकुश शासन आफ्नो हातमा लिएर लोकतन्त्र ल्याएको भनेका राजनीतिक दल नै अहिले फेरि त्यही शासन पद्धति अपनाइरहेको देख्दा जनताले खोइ कँहा पाए लोकतन्त्र जस्तो महसुस हुन थालेको छ ।

राजतन्त्र समाप्त भएपनि राजतन्त्रको झल्को दिने प्रवृतिको अन्त्य नभएको जस्तो लाग्न थालेको छ । स्वतन्त्र लोकतान्त्रिक नेपालमा जनताका छोरा छोरी जो कोहीले पनि देशको शासन सत्ता सम्हाल्न सक्ने हैसियत राख्न सक्ने अवस्था बनेको छ । आज देशमा जनताद्धारा निर्वाचित जनप्रतिनिधिले देशको राष्ट्राध्यक्ष बन्ने अवसर प्राप्त गरेको अवस्था छ । तर जनताबाटै चुनिएका जनप्रतिनिधिहरु नै जनतामाथि राजकीय शासन गर्न लागेको महसुस हुन थालेको छ । राजतन्त्रले त छोड्यो तर राजकीय शासन पद्धतिले भने राजनीतिक दलका नेताहरुलाई नछोडेको अवस्था बुझ्न सकिन्छ । लोकतन्त्रको प्रत्याभूति जनताले नपाएको देख्दा राजशासनको अन्त्य गरेर राजनीतिक दलीयशासन पो लागू गरेका रहेछन् । यस्तो अवस्थाले के नेपाली जनताले साँच्चै नै लोकतन्त्र पाएकै ठहर्छ त ? यो सोच्नै पर्ने गम्भीर विषय बनेको छ ।

जनताको निर्वाचनबाट अहिले देशले दुईतिहाइ बहुमतको सरकार पाएको छ । जनताबाट चुनिएका प्रतिनिधि जनताको हक हितका लागि काम गर्न अग्रसर हुनुपर्नेमा वर्तमान सरकार त्यही जनतालाई नै दमन गर्न खोजिरहेको छ । सरकार झन्–झन् निरकुशं बन्दै गएको महसुस गर्न सकिन्छ । जनताले स्वतन्त्रताको आभाष गर्दा गर्दै त्रास समेत गर्नुपर्ने अवस्था विकसित भएको छ । जनआन्दोलन पश्चात जनतामा पलाएका आशाहरु निराशामा परिणत हुँदै गएका छन् । सरकार बदलिन्छन् तर प्रवृत्ति उस्तै देखिन्छ ।

सत्तासीन नेताहरु आफ्नो सुविधा बढाउने बाहेक देश र जनताका लागि कुनै किसिमको चासो लिएको पाइदैन । जनताको चाहनालाई वर्तमान सरकारले सम्बोधन गर्न जरुरी नसम्झिएर आफ्नै सुरक्षा र सुविधा बढाउनतर्फ मात्र अग्रसर भएको देखिन्छ ।

जनताले खेपिरहेका राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्ति (भिआइपी) को सवारीको सन्दर्भलाई मात्र लिने हो भने पनि राजतन्त्रकालीन शासनबाट जनताले मुक्ति पाएका छैनन् भन्ने कुरा बुझ्न सकिन्छ । सरकारले ‘थ्रेट’ महसुस गरी विशेष सुरक्षा दिइएका विशिष्ट व्यक्तिहरुको सवारीले सडक सबै अवरुद्ध गरेर सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनु कत्तिको जायज हो ? सर्वसाधारणको आवत–जावतमा समेत असुविधा पर्ने गरी अघिपछि सुरक्षाकर्मीको बाक्लो ताँती लिएर हिड्छन् नेताहरु । जनताबाट चुनिएका जनताका प्रतिनिधिहरुको सवारी हुँदा सर्वसाधारणलाई दुःख दिने गरी आवागमनमा रोक लगाउने प्रवृतिले राजतन्त्रकालीन शासनको झल्को दिएको छ । चीन भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको चीन प्रस्थान गर्ने क्रममा सवारी रुट त परिवर्तन गरिएको थियो तर पनि जनताले हैरानी नै व्यहोर्नुपरेको देखियो । राष्ट्रपतिको राजकीय भ्रमण रुट परिवर्तन गरेर छोटो रुटको प्रयोग गर्दै सवारी रुट–शीतलनिवास, शिवपुरी स्कुल, वालुवाटार, भाट–भटेनी लोत्से, रातोपुल, गौशाला हुँदै एयरपोर्ट पुग्ने व्यवस्था गरिएको थियो । तर पनि त्यो रुटहरुमा जनताले हैरानी नै व्यहोर्नुपरेको थियो । सवारीका नाममा सर्वसाधारणलाई घन्टौंसम्म सडकमा गाडी चलाउन रोक लगाउने प्रवृति नफेरिंदा जनताले शास्ती भोग्दै आउनुपरेको छ । राष्ट्रपतिको सम्मानका नाममा उनको सवारी हुँदा सडक र आकाश नै खाली गराउन थालिएपछि लोकतन्त्र र गणतन्त्र कहाँ आयो जनतालाई भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । जनता सधैं शासित थिए र अहिले पनि शासित नै रहेको महसुस हुन थालेको छ । सवारीमा सामन्ती शैली अपनाएको भन्दै सर्वसाधारणले पटक–पटक आलोचना गर्दा पनि र सडकबाटै नाराबाजी हुँदासमेत सरकारले केही चासो लिएको छैन । राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडानहरु आकाशमा रोकिएका थिए । यसले उडान तालिका अस्तव्यस्त बनाएको थियो, जसले गर्दा यात्रुले घन्टौँसम्म विमानस्थलमा कुर्नपर्ने बाध्यता पनि सृजना भएको थियो । देशमा शासन व्यवस्था फेरिए पनि सत्तासीन नेताको शासनशैली नफेरिएको यो भन्दा भद्दा उदाहरण अरु के चाहियो ?

जनताका प्रतिनिधिको रुपमा चिनिने हाम्रा देशका विशिष्ट व्यक्तिहरु अफ्नो नीजि सुरक्षाका लागि मात्र राज्यको करोडौं रकम खर्च गर्दै आइरहेका छन् । विशिष्ट व्यक्तिहरुको सुरक्षाका नाममा ठूलो जनशक्ति र राज्यकोष दुरुपयोग भइरहँदा लाग्छ विशिष्ट व्यक्तिहरुको सुरक्षाका लागि गरिएको प्रबन्ध शान, सौकत प्रदर्शन गर्ने माध्यम हो । अवश्य पनि सुरक्षा आवश्यकता हो, तर शान, सौकत प्रदर्शन गर्ने माध्यम होइन । राजकीय शैलीमा प्रस्तुत भएका हाम्रा नेताहरुको रवैयाले जनतामा वितृष्णा जगाइरहेको छ । नीति नियम कानुन केहीले नछेक्ने यी नेताहरुको शासन शैलीले जनताले सधैं शास्ती भोग्दै आउनुपरेको छ । विशिष्ट व्यक्तिहरुको सुरक्षाका लागि यति धेरै सुरक्षाकर्मी खटाउनुभन्दा यी सुरक्षाकर्मीहरुलाई देशको सिमा रक्षाका लागि सिमानातर्फ खटाएमा आफ्नो देशको सीमाको सुरक्षा त हुने थियो ! Samarianisu@gmail.com -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here