नेपाल वायुसेवाले ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने

86

 काठमाडौं / नेपाल वायुसेवा निगमले ६१औं वर्ष प्रवेशका साथै जापानको ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने भएको छ ।

नेपाल वायुसेवा निगमले असार १९ गतेदेखि ओसाकाको नियमित उडान प्रारम्भ गर्ने भएको छ । अहिले निर्धारित उडान तालिका अनुसार हप्ताको तीन (३) वटा उडान मंगलबार, बिहीबार र शनिवार हुनेछ ।

काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६ः०० बजे काठमाडौं आइपुग्ने निगमले जानकारी दिएको छ ।

ओसाकाको सबै उडानहरु वाइड्वडी ए ३३०–२०० बाट हुनेछ । यस अघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुंदै ओसाकासम्म उडान गर्दै आएको थियो र तत्कालिन समयमा विमानको कमीका कारण जापान उडान स्थगित गरिएको थियो । सन् २००० मा जापानबाट काठमाडौंका लागि सवभन्दा बढी ४१,०७० जनाले नेपाल यात्रा गरेका थिए । जसमध्ये नेपाल वायुसेवा निगमको विमानबाट करिव २२ हजार यात्रु आएका थिए । ध्वजावाहकको सेवा नभएपछि यात्रुसंख्या घट्दै गएर सन् २०१५ मा १७,६१३ यात्रुमा सीमित भएको थियो । निगमले ओसाका र नारितामा हप्ताको चार उडान थालेपछि वार्षिक सिट क्षमता ५७ हजार हुने र यसबाट यात्रु संख्या बढ्न गई नेपालको अर्थतन्त्रमा सकारात्मक परिणाम ल्याउने निगमले जनाएको छ ।

निगमको गृष्मकालीन तालिका अनुसार काठमाडौं–ओसाका र ओसाका काठमाडौं उडान एक तर्फी करिव ६ घण्टा ३० मिनेटको हुनेछ । दोश्रो चरणमा जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडान गर्ने योजना बनाई तदनुरुप प्रक्रिया अगाडि बढाइएको छ । टोकियोको नारितामा उडान शुरु गरेपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई वटा उडान गर्ने योजना रहेको छ ।

विगतमा काठमाडौं ओसाकाबीच सन् १९९४ मा शुरु भएको उडान २००७ सम्म नियमित रुपमा भएकोे थियो । बोइङ्ग ७५७ जहाजबाट गरिएको उक्त उडान चीनको सांघाई भएर गरिन्थ्यो । तर अवको उडान काठमाडौंबाट ओसाकासम्म र ओसाकादेखि काठमाडौंसम्म वाइड्वडी विमानबाट सिधा उडान गरिने निगमले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here