शुरु हुने भयो प्रधानमन्त्री कप विजेतालाई २० लाख

72

काठमाडौं / प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता यही जेठ एक गतेदेखि सुरु हुने भएको छ । इभेन्ट म्यानेजमेन्टको जिम्मा पाएको नेपालय इन्टरनेशनलले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । ५० ओभरको हुने प्रतियोगिता जेठ एकदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहनेछ । त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा दुई समूहमा विभाजन गरेर लिगका खेलहरु आयोजना हुने नेपालयले जानकारी दिएको छ । लिगका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगितामा विजेता टिमले २० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता बन्ने टिमले १० लाख नगद प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार नगद प्राप्त गर्नेछ । प्रतियोगितालाई अझै प्रभावकारी बनाउनका लागि दर्शकको लागि पनि पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ । ब्याट्सम्यानले प्रहार गरेको छक्का दर्शकले एक हातले क्याच गरेमा ५० हजार नगद प्राप्त गर्नेछन् ।

राखेप र नेपालयबीच सम्झौता

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितालाई अझै सफल बनाउनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालय इन्टरनेशनल प्रालीबीच सम्झौता भएको छ ।

राखेपका सदस्यसचिव केशवकुमार विष्ट र नेपालयका इन्टरनेशनल प्रालिका अध्यक्ष सुवासचन्द्र प्रधानबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार अब नेपालयले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन पक्ष सम्हाल्नेछ । त्यस्तै, यो प्रतियोगिताका लागि अनुमानित लागत एक करोड ७५ लाखमध्येको ९३ लाख पनि विभिन्न प्रायोजकहरुबाट नेपालयले जुटाउनेछ । प्रतियोगितामा राखेपको ८० लाख मात्रै लाग्ने सदस्यसचिव विष्टले जानकारी दिए । सम्झौता पत्रमा हस्ताक्षर गर्दै सदस्यसचिव विष्टले भने, ‘हामीसँग पर्याप्त मात्रामा जनशक्ति छैन । त्यसैले निजी क्षेत्रलाई पनि क्रिकेटमा ल्याउनका लागि र यो प्रतियोगितालाई भब्यताको साथमा सम्पन्न गर्न यो सम्झौता गरिएको हो ।’

यता, पूर्व क्रिकेटरसमेत रहेका अध्यक्ष सुवासले नेपाली क्रिकेटको एक दिवसीय मान्यतालाई जोगाइराख्न पनि यो प्रतियोगितामा हात हालेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here