वनजंगलमा आगो निभाउने क्रममा सल्यानमा ३ को मृत्यु

427

सल्यान / गर्मीयाम सुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ । सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा ३ जनाको मृत्यु भएको छ । जङ्गलको आगो घरमा आउन थालेपछि निभाउने प्रयास गर्दै गर्दा छत्रेश्वरी गाउँपालिका-६ सिमपानीका ५५ वर्षीया पुन्टी बोहरा र शारदा नगरपालिका—९ दुवेरीका ६० वर्षीय गोवर्धन पुनको यही वैशाख २८ गते घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीमा गम्भीर घाइते भएका छत्रेश्वरी-६ सिमपानीका ४० वर्षीय खगेन्द्र बोहराको उपचारका क्रममा काठमाडौँमा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । अहिलेसम्म आगलागीमा परेर छत्रेश्वरी-७ मा अन्नपात लत्ता कपडासहित आठ घर, कालीमाटी गाउँपालिका-१ मा चार घर जलेर नष्ट भएका छन् । जिल्लाका सुरक्षा निकाय तथा स्थानीयले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन सकेको छै्रन । आगो निभाउन जिल्लामा पर्याप्त साधन उपलब्ध नभएकाले आगो नियन्त्रणमा आउन नसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक विमल डाँगीले खुलासा गरे ।

आगो लगाउने कार्यमा संलग्न भएको भन्दै एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । शारदा–२ मा रहेको चन्द्रपाला सामुदायिक वनमा आगो लगाउँदै गर्दा सोही ठाउँका रामबहादुर वलीलाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।जिल्लाका कपुरकोट, छत्रेश्वरी, कालीमाटी गाउँपालिका र शारदा नगरपालिका भित्रका सामुदायिक वनमा भिषण आगलागी भइरहेको डिभिजन वन कार्यालयका अधिकृत थीरबहादुर कार्कीले जानकारी दिए ।

‘जिल्लाका विभिन्न स्थानमा आगो लागेपछि वन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयले प्रयास गरिरहेका छन्, हावाहुरी र सल्लाका रुख बढी भएकाले आगो नियन्त्रण गर्न गाह्रो भएको छ’, उनले भने । हालसम्म आगोले जिल्लाका ११ सामुदायिक वनको तीन हजार हेक्टर बढी क्षेत्रफल वन सखाप भएको जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here