उपराष्ट्रपतिको स्वागतमा अनिवार्य उपस्थित हुन भनिएपछि ४० डिग्रीमा १ घण्टा पैदल हिँडेर आए

94

काठमाडौं / उपराष्ट्रपतिलाई स्वागत गर्न बालबालिका कार्यक्रममा एक घण्टासम्म पैदल हिँडेर आएका  थिए । कतिपय विद्यार्थीले खाली खुट्टै हिँडेका थिए । कटहरिया-१ स्थित भषेडवा माविका प्रधानाध्यापक राममंगल राय यादवले नगरपालिकाले विद्यालयका सबै कर्मचारी र छात्रछात्रालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएकाले विद्यार्थीलाई ल्याउनुपरेको जनाए ।

प्रधानाध्यापकले भने -‘बालबालिकालाई बोलाएर न बस्ने ठाउँ दिइयो न खाजा,’ उनले भने, ‘चर्को घाममा बच्चाहरू भोकभोकै फर्किनुपरेको छ । यस्तो कार्यक्रममा बच्चाहरूलाई बोलाउनु हुँदैनथ्यो ।’ भषेडवा माविबाट कार्यक्रमस्थल झन्डै ३ किलोमिटर दूरीमा पर्छ । उपराष्ट्रपति पुन आउनुभन्दा एक घण्टाअघि विद्यार्थी कार्यक्रमस्थल पुगिसकेका थिए ।

कटहरिया नगरपालिकाभित्र २३ वटा विद्यालय छन् । नगरपालिकाको शिक्षा शाखाले जानकी जयन्ती समारोहमा सबै संस्थागत तथा सामुदायिक विद्यालयका कर्मचारी र विद्यार्थीलाई आआफ्नो ब्यानरसहित उपस्थित हुन वैशाख २४ गते नै पत्र पठाएको थियो । समारोह नगरपालिकाले आयोजना गरेको हो ।

नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि सरेन्द्र ठाकुरले ठूला कक्षाका विद्यार्थीलाई मात्र बोलाइएको दाबी गरे । ‘कार्यक्रममा धेरैजसो ठूला विद्यार्थी नै थिए,’- उनले भने । उपराष्ट्रपति उपस्थित हुने कार्यक्रम भएकाले विद्यालयलाई आउन भनेको उनले जनाए । सोमबार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो । विद्यालय बन्द भए पनि विद्यार्थीलाई पोसाकमै कार्यक्रम ल्याइएको थियो ।

कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाह हुन् । व्यक्ति हत्याको आरोपमा जेल परेका उनी केही महिनाअघि सर्वोच्च अदालतले सफाइ दिएर छुटेपछि हेलिकप्टरबाट गृहजिल्ला आएका थिए । कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here