दुई करोड ५० लाख हिनामिना गर्ने मालपोत प्रमुखसहित ६ जना विरुद्ध मुद्दा दायर

147

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली रसिद प्रयोग गरी करोडौँ राजश्व रकम हिनामिना गर्ने मालपोत अधिकृतसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले मालपोत कार्यालय, कलैया, बाराका तत्कालीन कार्यालय प्रमुख (मालपोत अधिकृत) राजराजेश्वर त्रिवेदी समेत ६ जना उपर आरोप-पत्र दायर गरेको हो ।

भूमिसुधार तथा मालपोत कार्यालय कलैया, बाराको रजिष्ट्रेसन फाँट नं. ३ का फाँटवाला मदन प्रसाद गुप्ताबाट बरामद गरिएका कागजपत्रबाट दुई करोड ५० लाख ८६ हजार छ सय ४० रुपैयाँ राजश्व खातामा दाखिला नगरी खाई मासेको आयोगले जनाएको छ ।

अनुसन्धानका क्रममा रजिष्ट्रेसन फाँट नम्बर ३ का तत्कालीन फाँटवाला गुप्ताले आफू कार्यरत फाँटमा राजश्व सङ्कलन गर्ने प्रयोजनका लागि नक्कली विल प्रयोग गर्ने गरेको भेटिएको र २०७४ कार्तिक देखि २०७५ साउन सम्ममा सक्कली नगदी रसिद प्रयोग गरी तीन करोड ३७ लाख ९८ हजार सात सय ४६ र नक्कली रसिद प्रयोग गरी एक करोड पैँतिस लाख ७० हजार दुई सय ९४ गरी जम्मा चार करोड ७३ लाख ६९ हजार चालिस रुपैयाँ सङ्कलन गरेको देखिएको थियो ।

राजश्व रकममध्ये दुई करोड ५० लाख ८६ हजार छ सय ४० रुपैयाँ हिनामिना गरेको देखिएको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here