दुई जना पुरुष जङ्गलमा मृतावस्थामा भेटिए

21

बनेपा / काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारको जङ्गलमा दुई जनाको मृतावस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सो वडाका वडाध्यक्षले दिएको जानकारीअनुसार खानेपानी मर्मतका लागि गएको दुवै जनाको आज बिहान मृतावस्थामा शव फेला परेको जनाए । उक्त वडाका वडाध्यक्ष दूधराज तामाङका अनुसार गाउँमा उपभोग गर्दै आएका खानेपानीको धारामा पानी नआएपछि मुहानतर्फ हेर्न भनि बुधबार दुवै जना घरबाट निस्केको र बेलुका घर नआएपछि घरपरिवार र गाउँले मिलेर खोज्ने क्रममा तीन दिनपछि आज बिहान भाङ्गेटारको जङ्गलमा मृतावस्थामा फेला पारेको हो ।

अध्यक्ष तामाङका अनुसार मृत फेला पर्नेमा सोही वडाका अन्दाजी ५० वर्षीय सञ्चर सिं लामा र ४० वर्षीय नरबहादुर लामा रहेका छन् । उनीहरुसँगै गएका एक कुकुर पनि सोही ठाउँमा मृतावस्थामा भेटिएको जनाइएको छ । मृतकको शरीर केही जलेको जस्तो देखिएको र एक जनाको आँखा फुटेको र अर्कोको कपडा च्यातिएको अवस्थामा रहेको छ । घटनाको जानकारी आएपछि घटनास्थलतर्फ प्रहरीको टोली पठाइसकेको भए पनि घटनास्थल नपुगेको कारण विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here