हातहतियार सहित पक्राउ

222

काठमाडौं- रुपन्देही, सिद्धार्थनगर नगरपालिका-११ पिप्रहियाबाट भारत महाराजगंज फरेना बस्ने झिनक धोवीलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान र सो को म्याग्जीन १ थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नेपाल-भारत सीमा नाकामा भारतीय मूलका मानिसहरुले अवैध रुपमा साना हातहतियार लिई नेपाल आउँदै गरेको भन्ने विशेष सूचना प्राप्त हुनासाथ ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरबाट खटिएको प्रहरीले नम्बर नखुलेको मोटरसाइकलमा आएका उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा सीमा पारीबाट तत्काल अज्ञात समूह नेपाल प्रवेश गरी हुलहुज्जत तथा अभद्र व्यवहार गर्दै डिउटीमा खटिएको प्रहरीलाई आक्रमण गर्नुका साथै हतियार खोस्न खोजेको र सीमा पारीबाट फायर समेत गरेकाले प्रहरीले जवाफी फायर गर्दा भारत महाराजगंज फरेना बस्ने दिलिप धोवी घाइते भएका थिए । तत्काल सोही समूहले आफूसँगै लिएर गएका घाइते धोवीको भारतमा उपचारको क्रममा मृत्यु भएको बुझिन आएको छ । साथै सो समूहको आक्रमणबाट डिउटीमा खटिएका २ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।

रोल्पा, लुङग्री गाउँपालिका-१ ऐप भन्ने स्थानबाट कटुवा पेस्तोल १ थान, थ्रीनटथ्री राईफलको गोली १४ राउण्ड, गोली ११ राउण्ड, सकेट बम १ थान र खुकुरी १ थान सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका बस्ने ४२ वर्षीय धन बहादुर खत्री, थवाङ गाउँपालिका-२ बस्ने ५२ वर्षीय जय बहादुर रोका र लुङग्री गाउँपालिका-२ बस्ने ४२ वर्षीय भुपेन्द्र खडका रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here