हेल्मेट नै सडक दुर्घटना कम गर्ने उपाय हो त ?

189

–राज्यलक्ष्मी शाक्य
सरकारले दुर्घटना कम गर्ने भन्दे मोटरसाइकलको पछाडि बस्नेलाई पनि टाउकामा हेल्मेट लगाउन अनिवार्य गरिरहेको समाचारले काठमाडौंलाई आश्चर्यचकित तुल्याएको छ । हुन त बढ्दै गएको सडक र्दुघटना चिन्ताको विषय हो भन्ने कुरामा विवाद छैन । तर सडक र्दुघटना नियन्त्रणबारे अहिले त्यो भन्दा पनि चर्चा र रोचक विषय भनेको पछाडि बस्नेलाई अनिवार्य हेल्मेट बनेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलमा पछाडि बस्ने यात्रुलाई मध्यनजर गर्दै अनिवार्य हेल्मेट लगाउनुपर्ने नियमको व्यवस्था गर्ने तयारी गरेको जानकारी पनि गराइसकेको छ । यो नियम लागू गर्ने भनेपछि सामाजिक सञ्जालमा कतै यसको विरोध त कतै यसको प्रंशसा गरिएको पाइन्छ । तर के वास्तवमा अनिवार्य हेल्मेटले सडक दुर्घटनामा कमी आउला त ? यो निकै गम्भीर र सोच्नैपर्ने विषय बनेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा १३० को उपदफा २ बमोजिम ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ’ भन्ने उल्लेख भएको छ । आजभन्दा १७ वर्षअघि पनि राजा ज्ञानेन्द्रले संसद विघठन गरेपछि बनेको तत्कालीन सरकारले २०५९ सालमा दुई पाङ्ग्रे सवारी साधनमा पछाडि बस्ने यात्रुले हेल्मेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो । त्यतिबेला पनि उक्त निर्णयको व्यापक विरोध भएको हो । जसोतसो ३ वर्षसम्म त्यो नियम टिक्यो । अन्ततः व्यापक विरोध भएपछि सुरक्षाको कारण भन्दै २०६१ सालमा पछाडि बस्नेले हेलमेट लगाउनु नपर्ने भयो । अहिले फेरि सोही नियम लागू गर्न प्रहरी महाशाखाले अग्रसरता देखाइरहेको छ । दुई पाङ्ग्रे सवारी साधनमा चालकको भन्दा पछाडि बस्ने यात्रुको ‘अन द स्पट’ मृत्यु हुने संख्या बढी देखिएको भन्दै पछाडि बस्ने यात्रुले पनि हेलमेट अनिवार्यरुपमा लगाउनु पर्ने नियम ल्याउन लागेको प्रहरीको भनाइ छ । दुर्घटना हुँदा टाउकोमा चोटको जोखिम कम होस् भनेर हेल्मेटको मापदण्ड तय गरिएको समेत प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले जनाए अनुसार जसरी खाद्यान्न, निर्माण सामग्री लगायतमा मापदण्ड तोक्छौं, त्यस्तै व्यवस्था हेल्मेटमा पनि गरिएको छ । बजारमा पाइने सस्ता र कमसल हेल्मेटले यात्रुलाई सुरक्षा दिँदैन, त्यसैले सुरक्षित र गुणस्तरीय हुनु जरूरी रहेको जनाइएको छ । मोटरसाइकलमा पछाडि बस्नेलाई पनि अनिवार्य हेल्मेटको प्रयोग कतै व्यापारसंग सम्बन्धित त छैन भन्ने प्रश्न उठेको छ । धेरैले प्रहरीको यो नियमको विरोध जनाउँदै शंका गरेका छन् ।

हाम्रो समाजमा हेलमेटले गर्ने काम भनेको दुर्घटना हुँदा टाउको जोगाउने मात्र हामी धेरैको मानसिकतामा रहेको छ । हामी यसैलाई व्यापारिक दृष्किोणबाट हेरेको पाइएको छ । हेलमेट लगाए पनि अन्य भागमा चोट लाग्ने जोखिम उत्तिकै हुन्छ भन्ने धेरैको धारणा रहेको छ । दुर्घटना न्यूनीकरण हेल्मेटको प्रयोगले मात्र रोक्न सकिन्न । यो कुरा असत्य हो भन्न कसैले सक्दैन । ट्राफिक नियमको पालनाका लागि स्वयम् ट्राफिक प्रहरीको जागरुकता जरुरी हुन्छ । त्यसपछि नियम उल्लंघनकर्तालाई सजाय गर्ने कानुन प्रभावकारी हुनुपर्छ । ट्राफिक प्रहरीले सवारी दुर्घटनामा कमी ल्याउन विस्तार गरिएको यो नियम लागू गर्नुभन्दा पनि सडक दुर्घटना हुनै नदिन अन्य विकल्पतर्फ छलफल चलाउनु जरुरी छ । विश्वका विकसित मुलुकहरुमा ट्राफिक नियम कस्तो बनाइएको हुन्छ ? त्यो जानकारी लिएर कार्यान्वयनतर्फ लाग्न सकियो भने हेल्मेटका व्यापारीहरुसंग मिलोमतो गरेको आरोप अवश्य पनि लाग्ने थिएन । सडकमा गति कम गर्ने तथा सानो सडकमा होसियारीपूर्वक चलाउने तर्फ ध्यान दिनु जरुरी छ । ट्राफिक नियम लागू गर्नुपर्ने विषयतर्फ ध्यान पुगिरहेको छैन । हेल्मेट प्रयोगले धेरथोर राहत त पक्कै देला तर अन्तिम समाधान यसले दिन सक्दैन । अतः जबरजस्तीि यो नियम लागू गराउनु भन्दा आफ्नो सुरक्षाको लागि हेल्मेट आफैले लगाउनुपर्ने चेतना महत्वपूर्ण कुरा हो । ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारवाहीको व्यवस्था नगरिएसम्म सडक दुर्घटनालाई न्यूनीकरण गर्न विल्कुलै सकिदैन । सडक दुर्घटना नियन्त्रणको लागि अन्तिम विकल्प हेल्मेट प्रयोग नै हो भन्ने जस्तो गलत सोचाइबाट सत्ता सञ्चालकहरु बाहिर आउन जरुरी छ । [email protected]जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here