काठमाडौं- प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं महानगरपालिका-१२ टेकुका ३२ वर्षीय सागर च्यामेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१४ कुलेश्वर चुनीपाखामा खटीएको प्रहरीले तलासी गर्ने क्रममा सागरको साथमा लागूऔषध फेनारागन १ एम्पुल, नोर्फिन १ एम्पुल र डाइजेपाम १ एम्पुल सहित सागरलाई फेला पारी पक्राउ गर्ने क्रममा छाड्नको लागि १ हजार ५० रुपैँया दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । सागरलाई उक्त लागूऔषध र नगद सहित पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे बनेपा बस्ने सिन्धुपाल्चोकका १९ वर्षीय रुपेश माझीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बा.३ ख ५४२४ नम्बरको ट्रिपर जाँच गर्ने क्रममा सहचालकले चलाएको अवस्थामा फेला पारी पक्राउ गर्न खोज्दा प्रहरीलाई १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेकोले उनलाई उक्त रकम र ट्रिपर सहित प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















