गणतन्त्र मनाइरहँदा प्रेस स्वतन्त्रतामा अवरोधको त्रास

103
Nisha Tamang

-निशा तामाङ
नेपालको प्रेस जगतले अभिव्यक्ति स्वतन्त्रताको महत्वबारे जति नै बुझेपनि स्वतन्त्रता भने पाउन नसकेको अवस्था छ । त्यसैले नेपालको प्रेस अहिले सत्ताको कोपभाजनमा पर्न गइरहेको त्रासका बीच सडकमा आन्दोलित भइरहेको छ । राणाशासनको अन्त्य र निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यका निम्ति योगदान पु¥याएको नेपालको प्रेस जगत अब फेरि स्वतन्त्रताको संकट महसुस गर्नुपर्ने अवस्था सृजना हुनु नै दुर्भाग्य हो ।

आज गणतन्त्र दिवस मनाइरहेको अवस्थामा गणतन्त्रबाट प्राप्त गरिएको अभिव्यक्ति स्वतन्त्रताको व्यवस्थामा वर्तमान सरकारले प्रेसमाथि लगाउन खोजेको अंकुशले गणतन्त्रको समेत आभाष हुन सकेको छैन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जे जति आएपनि जनताले स्वतन्त्र रुपमा आफ्नो अभिव्यक्ति प्रदर्शन भने गर्न पाएका छैनन् । ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराका साथ अगाडि बढेको वर्तमान सरकारले अभिव्यक्तिको स्वतन्त्रताको हनन गर्न खोजिरहेको छ । सबैखालका भिन्न विचार संस्कृति र संस्कारहरुले फल्ने फुल्ने र रमाउन पाउने स्थितिको निर्माण हुन सकेको छैन । वर्तमान शासन व्यवस्था राजतन्त्रीय व्यवस्था र पञ्चायती व्यवस्था जस्तो कठोर बन्दै गइरहेको अवस्था छ । दुईतिहाई बहुमतको वर्तमान सरकारले मिडिया काउन्सिलका नाममा स्वतन्त्र प्रेसलाई कमजोर बनाउने चलखेल सुरु गरेको छ । वर्तमान सत्ता सञ्चालकहरु अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उदार र प्रतिबद्ध देखिएका छैनन् । जसको विरोध सम्पूर्ण पत्रकारले सडकमा नै उत्रिएर गर्दै आइरहेका छन् । सरकार भने प्रेसलाई नियन्त्रित गर्ने संरचना बनाउन खोजिरहेकोे देखिएको छ ।

नेपालको संविधान २०७२ को धारा ३ मौलिक हक र कर्तव्यअन्तर्गत धारा १७ मा स्वतन्त्रताको हकसम्बन्धी व्यवस्था गरेको छ । स्वतन्त्रताको हक अन्तर्गत कानुन बमोजिमबाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन । प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता हुनेछः (क) विचार र अभिव्यक्तिको स्वतन्त्रता, (ख) विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, (ग) राजनीतिक दल खोल्ने स्वतन्त्रता, (घ) संघ र संस्था खोल्ने स्वतन्त्रता, (ङ) नेपालको कुनै पनि भू–भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता, (च) नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता ।  प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार हुन्छ । विनाहस्तक्षेप आफ्ना विचारहरु राख्न पाउने स्वतन्त्रता हुन्छ । अभिव्यक्ति स्वतन्त्रताको सबैभन्दा मुख्य विषय भनेकै सञ्चारमाध्यम हो ।

नेपालमा प्रेस स्वतन्त्रतालाई संविधानमा नै सुरक्षित गरिएको छ । संविधानको धारा १९ को उपधारा १ मा विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायत जुनसुकै माध्यमबाट कुनै समाचार सम्पादकीय, लेख रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्नुपूर्व प्रतिबन्ध लगाइनेछैन भनिएको छ । तर सोही उपधारामा सरकारको नियत सफा नभएमा कुनै पनि बहानामा प्रेसमाथि नियन्त्रण गर्न सकिने संवैधानिक सीमा राखिएको छ । त्यसमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय एकाईबीचको सुसम्बन्धमा खलल पर्ने, राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल कार्य गर्ने वा श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछुत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको नमानिने व्यवस्था गरेको छ ।

राज्यको चौथो अंगको रुपमा रहेको प्रेस जगत समाजको ऐना हो । समाजको ऐना सरह नै रहेर यथार्थताको चित्रण सम्प्रेषण गर्न जरुरी हुन्छ । पत्रकारितालाई राज्यको चौथो अंग त्यसै भनिएको हैन । पत्रकारिता समाजको न्यायालय पनि हो । यसले शक्तिशालीलाई उत्तरदायी बनाउन जोड दिने, भ्रष्टाचार र दुरुपयोगलाई उजागर गर्ने तथा आवाजविहीनहरूको आवाज बन्ने प्रेस जगतको भूमिका अभिव्यक्ति स्वतन्त्रतालाई गतिशील रुपमा निरन्तर अगाडि बढाइरहन हरपल सजग रहन जरुरी छ ।

नेपालको संविधान र कानुनमा प्रेस स्वतन्त्रताका लागि धेरै प्रावधान राखिएका भए पनि व्यवहारमा लागू हुन सकेको छैन । सञ्चारमाध्यम आम मानिसलाई सुसूचित गर्ने माध्यम भएकाले जनताको आवाजविहिन आवाजलाई चित्रण गर्दै सम्प्रेषण गर्न प्रेस स्वतन्त्रता महत्वपूर्ण मानिन्छ । सञ्चारमाध्यमकै मार्फत सबैले अफ्नो हनन भएको हक अधिकार अभिव्यक्तिको वकालत गर्ने हो । अभिव्यक्ति स्वतन्त्रताको अर्थ जेसुकै लेख्न, बोल्न र छाप्नु पक्कै होइन । यो पनि सञ्चारमाध्यमका सम्बन्धित पक्षले बुझ्नु जरुरी छ । अभिव्यक्ति स्वतन्त्रताको नाममा राजनीतिक भजन जप्ने पत्रकारहरुले ‘प्रेस’को आवरण भिरेर गलत समाचार सम्प्रेषण पनि गर्नु हुँदैन । यसका लागि प्रेस स्वतन्त्र र सुरक्षित हुन जरुरी देखिन्छ ।

[email protected] – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here