गणतन्त्र सरकारलाई मात्र आयो जनतालाई आएन

120

–राज्यलक्ष्मी शाक्य
यो वर्षपनि गणतन्त्र मनाउने दिन आइपुग्यो । आज यी शब्दहरु लेख्न बसिरहँदाको अघिल्लो दिन राजनीतिक स्वतन्त्रतामा प्रतिबन्ध लगाइएको राजनीतिक दल विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु कोठाभित्रै बम पड्किएर ज्यान गुमाएका छन् । यो दुःखद घटना भएको दुई दिनपछि गणतन्त्र दिवस मनाइँदै छ । उता भोजपुरमा प्रहरीद्धारा गोली हानेर राजनीतिक स्वतन्त्रताको आवाजलाई बन्द गरिएको छ ।

दुई सय ४० वर्ष लामो शाहवंश राजतन्त्रको अन्त्यको घोषणा गरेर गणतन्त्र स्थापना भएको दिन जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाउने गरिन्छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । राजतन्त्रको अन्त्य गर्दै जनताद्वारा चुनिएका प्रतिनिधिहरुले शासन गर्ने व्यवस्था लागू गर्न ल्याइएको गणतन्त्र दिवस प्रत्येक वर्ष जेठ १५ गते मनाउन थालिएको हो ।

विगत १२ वर्षदेखि मनाउँदै आएको गणतन्त्र दिवस आज आएर अझ विकसित बन्दै गएको छ । स्वतन्त्र गणतान्त्रिक नेपालमा जनताका छोरा छोरी जो कोहीले पनि देशको शासन सत्ता सम्हाल्न सक्ने हैसियत राख्न सक्ने अवस्था बनेको छ । आज देशमा जनताद्धारा निर्वाचित जनप्रतिनिधिले देशको राष्ट्राध्यक्ष बन्ने अवसर प्राप्त गरेको अवस्था छ । नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्रप्रमुख हुनकालागि राजपरिवारमै जन्मिएका ब्यक्ति अर्थात् राजाका छोराछोरी, राजकूलमा हुर्किएका शाही सदस्य मात्र हुन पाउने व्यवस्था थियो । गणतन्त्रको स्थापनासंगै जनताका छोराछोरीहरुले देशको राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।

देशलाई समृद्धिको बाटोमा हिडाउँन संविधानसभाको यात्रा यही आन्दोलनबाट सुरु भएको थियो । फलस्वरुप सवै नेपालीको आकांक्षा पुरा गर्न २०७२ असोज ३ गते ‘नेपालको संविधान(२०७२)’ जारी हुन सफल भएको हो । धेरै पछि गणतन्त्रात्मक नेपालले निर्वा्चित बहुमतको सरकार पाएको छ । देश संघीयताका आधारमा सातैवटा प्रदेशमा जनताका प्रतिनिधिद्धारा सञ्चालन भइरहेका छन् ।

तथापि राजतन्त्रको निंरकुश व्यवस्थाको विकल्पमा आएको गणतन्त्र सर्वाधिक आशाजनक शासन व्यवस्था अहिले निराशाजनक अवस्थामा पुगेको छ । नेपाली जनताले गणतन्त्रलाई ११ वर्षमै रुचाउन छोडेका छन् । देशमा हत्या, हिंसा बलात्कार, भ्रष्टाचार दिनहुँ बढ्दै गएको छ । जनताले के चाहिरहेका छन् ? जनताको दैनिकी कसरी बितिरहेको छ भन्ने तर्पm सत्तामा पुगेपछि नेताहरूले बिर्सिने क्रम झन् पछि झन् बढिरहेको छ । जनताबाटै चुनिएका जनप्रतिनिधिहरु सत्तामा पुगेर जनताको हितमा काम नगर्ने प्रवृतिले जनतामा प्रश्न उठ्न थालेको छ – कसका लागि गणतन्त्र आएछ भन्ने सोच्न बाध्य भइसकेका छन् जनता । जनताको संरक्षण गर्नुपर्नेमा सरकारले अपराधीहरुको संरक्षण गरेको भन्दै आवाज उठ्न थालेको छ । यो कस्तो गणतन्त्र हो ? यो कस्तो व्यवस्था हो ? के हामीले यही मागेका थियो ? गणतन्त्र देश विरुद्ध षडयन्त्रको रुपमा आएको पनि कतिपय विश्लेषकहरुले दाबी गरेका छन् । राष्ट्रघाती कामहरू गणतन्त्रकालमा भएका छन् ।

वर्तमान सरकार गणतन्त्रको कार्यान्वयनमा अगाडि बढिरहेको छ । तर गणतन्त्रको कार्यान्वयनको क्रममा जनतालाई कुनै किसिमको राहतको अनुभूति गराउन नसकेको अवस्था छ । गणतन्त्रमा जनतालाई राहत नदिएर आहत तुल्याइएको छ । जनता गणतन्त्रप्रति विकर्षित भइरहेका छन् । आजकै दिन गणतन्त्र प्राप्तीको उत्साहमा नेपालभरि एतिहासिक दिपावली कार्यक्रम गरिएको थियो । सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिएर यसलाई सम्मान, गौरव र लोकतान्त्रिक गणतान्त्रिक मुलुकको उपलब्धिलाई उत्सवको रूपमा सारा नेपालीले मनाउने गर्दछन् । गणतन्त्र दिवसका अवसरमा सातै प्रदेशमा प्रभातफेरि, खेलकुद, प्रवचन, गोष्ठी एवं सांस्कृतिक कार्यक्रम समेत हुँदैछ । त्यसैगरी विदेशस्थित नेपाली दूतावास, कूटनितिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ भने साँझमा दिपावलीको उल्लासमय कार्यक्रमहरू समेत राखिएको छ । तर वास्तविक रुपमा जनताले गणतन्त्र पाएका छैनन् । अरु उत्सव सरह नै गणतन्त्र पनि एक उत्सव मानेर मनाउनु बाहेक अरु केही हुन सकेको छैन । जुन अवस्थामा जनताले अनुभूति गर्ने गरी बढ्नुपर्ने हो त्यो अवस्थामा सरकार अगाडि बढ्न नसकेको कारणबाट जनताका निम्ति गणतन्त्र कागलाई बेल पाके सरह भएको छ । वर्तमान सरकार राजनीतिक संस्कारबाट पतन हुँदै निरकुशं बन्दै गएको महसुस गर्न सकिन्छ । जनआन्दोलन पश्चात जनतामा पलाएका आशाहरु निराशामा परिणत हुँदै गएका छन् । सरकार बदलिन्छन् तर प्रवृत्ति उस्तै देखिन्छ । स्थायी सरकार बनेको अवस्थामा पनि सरकारले जनतामा उत्साह जगाउन सकेको छैन । जनतामा निराशा व्याप्त छ । शहिद र घाइतेका परिवारहरु सधै पीडित माथि पीडित बन्दै गएका छन् ।

नेपालमा जनताको हक हितका लागि आएका प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र दिवस जुनै दिवस मनाए पनि जनताका अन्ुकुल हुने गरी काम नभइरहेको अवस्था छ । देश विदेशी इशारामा चल्नुपर्ने बाध्यता बनिरहेको अवस्था छ । यो देश सधैंभरी विदेशीको इशारा र विदेशीको स्वार्थमा मात्र चलेको देखिन्छ । सरकारले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रम आयोजना गरेको छ । जति नै भव्यवताका साथ गणतन्त्र मनाइएपनि गणतन्त्रले तबसम्म सार्थकता पाउँदैन, जबसम्म जनताको आवाज समेटिदैन । [email protected] -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here