वर्षातलाई निम्ता, प्रिमनसुन सक्रिय

96

काठमाडौं- केहीदिन यता वर्षायामझैँ पानी परिरहेको छ । दर्के पानी पर्ने, हावा चल्ने अनि झलक्क घाम लाग्ने फेरि पानी पर्ने गरिरहेको छ ।

तर नेपालमा मनसुन सुरु भएको भने हैन । वर्षात्लाई निम्ता गर्दै प्रिमनसुन सक्रिय बनेको मौसमविद्को भनाइ छ । नेपालमा मनसुन भित्रने दिन १० जुन हो । त्यसको १० दिन अघि नै प्रिमनसुन सक्रिय बन्नु वर्षात्को सङ्केत भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताए । “बङ्गालको खाडीबाट दक्षिणपूर्वी वायु नेपालमा बग्न थालेको छ,” उनले भने, “यसले गर्दा केही दिन नबिराई पानी पर्नेछ ।” त्यो गह्रौँ आद्रतासहितको वायु वायुमण्डलको उच्च तहमा भने पुगेको अवस्था हैन ।

तल्लो सतहमा मात्र रहेकाले स्थानीय वायुको असरमा पानी परिरहेको उनी बताउँछन् । यसकै असरका कारण पूर्वी भेग, मध्यपहाडी भेग र तराईका भेगमा मेघगर्जनसहित रोकिँदै पानी पर्दै गर्ने अर्यालले जानकारी दिए ।

पश्चिममा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभावले पानी पर्ने उनले उल्लेख गरे । उनले भने झै विगत केही दिनयता बिहान घाम लाग्ने अपराह्व हावा, हुरी र असिनासहित पानी पर्ने क्रम चलिरहेको छ ।

यसरी प्रिमनसुन सक्रिय हुनुमा तापक्रमको वृद्धिले स्थानीय वायुको विकास हुनु कारक रहेको जल तथा मौसम विज्ञान विभाग स्थित मौसमविद् प्रतिभा मानन्धर बताउँछन् । गोरखापत्र दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here