क्रान्तिकारी पत्रकार महासंघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा दोहोरिए राउत

234

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध पत्रकारहरुको संगठन ‘क्रान्तिकारी पत्रकार महासंघ’ को दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट पत्रकार इन्द्र राउत नै अध्यक्षमा दोहोरिएका छन् ।

बुटवलमा शुक्रबार सम्पन्न महासंघको राष्ट्रिय सम्मेलनले उपाध्यक्षमा टेकबहादुर मास्की राना, महासचिवमा रामकुमार श्रेष्ठ, सचिवमा रनसुर महतरा र अनु निरौला तथा कोषाध्यक्षमा रवि पाण्डे चयन गरेको छ । सदस्यहरुमा दामोदर खनाल, मधुकर थापा, गोपाल जीसी, केशव अविरल, शिवशंकर पाण्डे, धनन्जय अवस्थी, कुमार भट्टराई, राजेन्द्र सुवेदी, सागर श्रेष्ठ, विष्णु आले, लोकराज जैसी, दिनेश श्रीवास्तव, प्रेम कँडेल, शोभा जीसीलगायत चयन भएका छन् ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध पत्रकारहरुको संगठनको दोस्रो राष्ट्रिय सम्मेलनमा  महासचिव मोहन वैद्य ‘किरण’ ले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । इन्द्र राउतको अध्यक्षता र रामकुमार श्रेष्ठको उदघोषणमा सम्पन्न सम्मेलनमा महासचिव किरण, माओवादी नेताहरु रामसिंह श्रीस र प्रेम सुवेदी तथा महासंघका सल्लाहकार हिरामणि दुःखी, प्रगतिशील पत्रकार संघका कोषाध्यक्ष श्याम पोखरेल, जनपत्रकार संगठनका शिव डुम्रेलगायतले शुभकामना दए ।

सम्मेलनमा अग्रज तथा संगठनका सल्लाहकार हिरामणि दुःखी, संगठनका पूर्वअध्यक्ष कुमार शाह, वरिष्ठ फोटो पत्रकार जयनारायण दाहाल र वरिष्ठ पत्रकार बाबुराम गिरीलाई जनपक्षीय पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सम्मान समेत गरियो ।

सम्मेलनले केन्द्रीय समितिका साथसाथै सल्लाहकार समिति, अनुशासन समिति र लेखा समिति समेत गठन गरेको छ । पाँच सदस्यीय सल्लाहकार समितिमा हिरामणि दुःखी, कुमार शाह र नारायण पंगेनी सदस्य छन् भने अनुशासन समितिमा कुमार शाह, नारायण पंगेनी र सुशीला आचार्य रहेका छन् । त्यस्तै, लेखा समितिमा इश्वरीप्रसाद गैरे, प्रदिप श्रेष्ठ र आयुष न्यौपाने रहेका छन् । सम्मेलनले इच्छुक स्मृति राष्ट्रिय पुरस्कार कोष र रामचन्द्र हुमागाईं स्मृति पुरस्कार कोष स्थापना गर्ने पनि घोषणा गरेको छ ।

सम्मेलनले मिडिया काउन्सील विधेयकविरुद्ध विरोध प्रस्ताव पारित गर्दै अविलम्ब फिर्ताका लागि जोडदार माग गरेको छ भने नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै आम नागरिक समाज तथा राजनीतिक पार्टीहरुलाई समेत आन्दोलित हुन अपिल गरेको छ । सम्मेलनले १३ बुँदे समसामयिक प्रस्ताव समेत पारित गरेको छ ।

बन्द सत्रमा अध्यक्ष राउतद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन र रामकुमार श्रेष्ठद्वारा प्रस्तुत विधान मस्यौदा सुझावसहित सर्वसम्मत रुपमा पारित भएका छन् । नयाँ कार्यसमिति चयनलगत्तै शनिबार बसेको पदाधिकारी तथा सचिवालयको बैठकलले मिडिया काउन्सिल विधेयक जलाउने, देशैभर अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने, जनपक्षीय मिडियाहरुको सम्मेलन गर्नेलगायतका निर्णयहरु समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here