चन्दा नदिएको निहुँमा कुटिए मेयर

214

रौतहट- चन्दा सहयोग नदिएको भन्दै स्थानीयको एक समूहले रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिलमाथि कुटपिट गरेका छन् ।

इद मनाउनका लागि चन्दा नदिएको भन्दै मंगलबार राति मेयर सकिलमाथि राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट भएको हो ।

इदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा सहयोग माग गरेका थिए । पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको तर, यस पटक इदको अघिल्लो दिन मंगलबारसम्म पनि मेयरले सहयोग रकम नदिएपछि आक्रोशित बनेका शेख कासिमलगायतका व्यक्तिहरुले मेयर सकिलमाथि कुटपिट गरेको जनाइएको छ ।

मस्जिदमा नवाज पढ्न गएका बेला स्थानीयले आफूसँग सहयोग रकम माग गरेको र अहिले खल्तीमा पैसा नभएकोले सहयोग रकम भोलि दिन्छु भन्दा केही व्यक्तिहरुले टर्चलाइटले टाउकोमा प्रहार गरेको मेयर सकिलले जनाएका छन् । टाउकोमा चोट लागेका उनी उपचार पछि घर फर्किएका छन् ।

मेयरमाथि हातपात भएको प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले पुष्टि गरे । टाउकोमा चोट लागेका मेयरको गौर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो । मेयरमाथि आक्रमण गरेका व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको डिएसपी कार्कीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here