नेपाल सांस्कृतिक संघको जेठ ३१ र ३२ गते राष्ट्रिय प्रशिक्षण भेला

183

काठमाडौं /  नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल सांस्कृतिक संघले यही जेठ ३१ र ३२ गते हेटौंडामा नेपाल सांस्कृतिक संघ जिल्ला सभापति (७७ वटै जिल्लाका) र विद्यागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्ने भएको छ ।

उक्त भेलाको उद्धघाट्न कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने पनि संघले जनाएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो जानकारी गराएको हो । संघले आफूहरुले स्रष्टा, संस्कृतिकर्मीहरुको सुरक्षा, सम्मान र पहिचानका लागि जोडदार आवाज उठाउँदै आईरहेको पनि जनाएको छ । हेटौंडा मकवानपुरमा सञ्चालित उक्त कार्यक्रममा ७७ वटै जिल्ला सांस्कृतिक संघका सभापति र विद्यागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलामार्फत देशव्यापी रुपमा सम्पूर्ण स्रष्टा, संस्कृतिकर्मीहरुको सुरक्षा, सम्मान र पहिचानका लागि ऐक्यबद्धता जाहेर गर्ने पनि संघको घोषणा छ ।

संघका सभापति तीर्थबहादुर थापाले उक्त राष्ट्रिय प्रशिक्षणमा भेलाका माध्यमबाट गाउँ नगर, क्षेत्र, जिल्ला, केन्द्र र प्रदेशस्तरीय सांगठनिक संरचनालाई अझ गतिशिल र रचनात्मक बनाउन संघ लागिरहेको सुनाए । उनले कलाकार तथा स्रष्टाहरुको हकहित पहिचानको लागि पनि उक्त कार्यक्रम फलदायी हुने विश्वास दिलाए ।

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘संस्कृतिको उत्थान बिना राष्ट्रको विकास र समृद्धि सम्भव छैन । स्रष्टा संस्कृतिकर्मीहरुलाई उपेक्षा र अवमूल्यन गरेर अघि बढ्न सकिन्न । राष्ट्रको गरिमा र पहिचान भनेकै सांस्कृतिक क्षेत्र हो । यो कुरा जननायक वीपी कोइरालाले आफ्नो संघर्षशील राजनीतिक जीवनको पहिलो उषाकालमै महसुस गरेर सांस्कृतिक क्षेत्रको उन्नयन र प्रर्वद्धन गरेको नेपाल सांस्कृतिक परिषद्को गठन कार्य गरेबाट स्पष्ट हुन्छ । सोही क्रममा वीपीले वि.सं. २००८ मा स्थापना र प्रर्वद्धन गरेको नेपाल सांस्कृतिक परिषदले तत्कालिन राणा शासनको निरंकुशताको कोपाभाजन हुनुपरेको घट्नाक्रमहरुको इतिहास साक्षी छ ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले संघ कलाकर्मीहरुको साझा संस्था बन्नुपर्ने धारणा राखे । उनले भने,‘अब संघले राजनीतिक कुरा नभएर सांस्कृतिक कुरा गर्नुपर्छ । कला र संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्नुपर्छ ।’ कलाकार तथा स्रष्टाहरुको अधिकारको बारेमा संघले आवाज उठाउनुपर्ने धमलाको सुझाव छ ।

कार्यक्रममा संघका महामन्त्री दुर्गा बहादुर रायमाझीले पनि राष्ट्रिय प्रशिक्षण भेला फलदायी हुने विश्वास दिलाए । त्यस्तै, कार्यक्रममा संघका उपाध्यक्ष जनार्दन आचार्य र महामन्त्रीहरु रोशनी केसी र शिवशंकर रिजालको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here