काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपालीकांग्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने जनाएको छ । नेपाली कांग्रेसले संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरित खुलाइएको सो विज्ञापन तत्काल रद्द गर्नुपर्ने जनाएको हो ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सो सम्बन्धमा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमा आफ्नो पार्टीको समर्थन रहेको स्पष्ट पारे ।
उनले समितिले भने बमोजिम स्थानीय तहको कर्मचारी करारमा राख्ने पक्षमा भने आफ्नो पार्टी नरहेको पनि जनाए । संविधानलाई केन्द्रमा राखेर लोक सेवा आयोगले पुनः सो विज्ञापन खुलाउने र स्थानीय तहमा आवश्यक कर्मचारी नियुक्तिको प्रक्रियालाई अघि बढाउने पक्षमा आफ्नो पार्टी रहेको प्रवक्ता शर्माको भनाई छ ।
















