‘नेवा राज्य’ दिन्छु भन्नेहरू अहिले सत्तामा पुगेर नेवारहरूको गुठी नै खोसिदिन लागे : सांसद लिङ्देन

296

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले गुठीमाथिको हस्तक्षेप केवल गुठीयारहरुमाथि मात्रै नभई सनातन परम्परामाथिकै आक्रमण भएको जनाए ।

संसदको शून्य समयमा बोल्दै सांसद लिङ्देनले गुठी परम्परा किरात कालबाट सुरु भएर लिक्षवी कालमा विकर्षित भएको जनाउँदै जंगल र सडकमा भएको बेला नेवारलाई ‘नेवा राज्य’ नै दिन्छु भन्नेहरूले अहिले सत्तामा पुगेर नेवारहरूको गुठी नै खोसिदिन लागेको आरोप पनि लगाए ।

उनले भने – ‘म सरकारलाई आग्रह गर्न चाहन्छु, नीति बिग्रनुअगाडि नै गुठी विधेयकलाई फिर्ता लिएर संरक्षण र प्रवर्द्धन गर्नुपर्छ ।’ उनले उपत्यका बाहिर रहेका मोहीहरुको समेत समस्याको समाधान हुनेगरी नयाँ विधेयक पेस गर्न आग्रह समेत गरे ।

सांसद् लिङ्देनले आफ्नो सनातन परम्पराका पक्षमा उभिएका जनतालाई होच्याउने र चिड्याउने ढंगले गुठी परम्परा सामान्तवाद भन्नु ‘आगोमा घिउ थप्नु’ भएको पनि जनाए ।

उनले कुनै पनि देश भूगोलले मात्र नबन्ने जनाउँदै भने – ‘विसं २०३२ सालसम्म हाम्रै छिमेकमा सिक्किम भन्ने देश थियो, तर आज छैन । आज पनि सिक्किमको भूगोल कसैले बोकेर लगेको छैन, जहाँको त्यहीँ छ । नाम पनि उहीँ छ तर देश छैन । देश हुनको लागि भूगोलबाहेक अन्य स्थायित्वको आधारहरू पनि हुन्छ, त्यो समाप्त भएपछि देशको अस्तित्व स्वतः समाप्त हुँदो रहेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here