विश्वकप क्रिकेटमा न्युजिल्यान्डको रोमाञ्चक जित

94

एजेन्सी / विश्वकप क्रिकेटमा न्युजिल्यान्डले वेष्ट इन्डिजलाई ५ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । शनिबार राति वल्ड ट्राफोल्र्डमा भएको खेलमा न्युजिल्यान्डले वेष्ट इन्डिजमाथि रोमाञ्चक जित हात पारेको हो । वेष्ट इन्डिजको जित सुनिश्चित जस्तै थियो । किनभने दुई ओभरमा मात्र ८ रनको आवश्यकता थियो ।

क्रिजमा थिए, कार्लोस ब्राथवोइट । उनी ९९ रनमा अविजित थिए । ४९औं ओभरको चौथो बलमा दुई रन लिँदै उनले शतक पूरा गरे । अब वेष्ट इन्डिजलाई जितको लागि ६ रन चाहियो । तर, ४८.६ ओभरमा जेम्स निसामले ब्राथवोइटलाई क्याच आउट गराए । योसँगै न्युजिल्यान्डले वेष्ट इन्डिजलाई पाँच रनले पराजित गर्न सफल भयो । वेष्ट इन्डिजका लागि क्रिस गेलले ८७ र शिमरन हितम्यरले ५४ रन बनाए पनि अन्य खेलाडीले भने राम्रो रन बनाउन सकेनन् । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्टले चार र लोकी फर्गुसनले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २९१ रन बनाएको थियो । न्युजिल्यान्डका दुई ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिल र कोलिन मुनरो शून्य रनमा आउट भएका थिए । सात रन हुँदा दुई विकेट गुमाएको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले उत्कृष्ट प्रदर्शन गर्दै उकासेका थिए । केनले तेस्रो विकेटका लागि रोस टायलरसँग मिलेर १६० रनको साझेदारी गरेका थिए । कप्तान केनले १५४ बलमा १४८ रन बनाए । उनले १४ चौका र एक छक्का प्रहार गरेका थिए । यता, टायलरले भने ६९ रन बनाउँदा जेम्स निसामले २८ रन बनाए । बलिङतर्फ वेष्ट इन्डिजका सेल्डन कोट्रेलले चार विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here