राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको प्रवक्तामा पत्रकार निमकान्त पाण्डे नियुक्त

725

काठमाडौं / राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको केन्द्रिय कार्य सञ्चालन समितिको बैठकले संस्थाको प्रवक्तामा अभियानका केन्द्रिय सदस्य एंव पत्रकार निमकान्त पाण्डेलाई नियुक्त गरेको जनाइएको छ ।

बैठकले गरेका समसामयिक निर्णयहरुको जानकारी गराउँदै संस्थाका अध्यक्ष अनारसिंह कार्कीका नामबाट प्रेस विज्ञप्ती सार्वजनिक गरिएको छ । प्रेस विज्ञप्तीमा विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्याबारे आफ्नो धारणा सार्वजनिक गरिएको छ भने सरकारले ल्याउन तयारी गरेको गुठी विधेयक सम्बन्धमा पनि धारणा सार्वजनिक गरिएको छ । संस्थाका कार्यकारी संयोजक भरत दाहालको अध्यक्षतामा अभियानको बैठक सम्पन्न भएको जनाइएको छ ।

निर्णयहरु यस प्रकार छन् :

१. केपी ओली नेतृत्वको सरकारले फर्जी मुठभेडको आवरणमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिम्मेवार नेताहरु र कार्यकर्ताहरुलाई हत्या गर्न थालेको छ। केहि समय पहिले भोजपुर जिल्लामा र हालै सर्लाही जिल्लामा गरिएका हत्याहरुका विरुद्धको आवाज दबाउने र हिंसाको वातावरण बनाएर आफ्नो अभिष्ट पूरा गर्ने षडयन्त्रका हिस्साहरु हुन् भन्ने कुरामा कुनै संका छैन। सरकारको यस्तो ब्यबहारले भोलि जुनसुकै व्यक्ति पनि मारिन सक्ने खतरा तर्फ सचेत रहँदै र यसका विरुद्ध एकजुट हुन सबैमा अनुरोध गर्दै अभियानले यस्ता कर्तुतहरुको निन्दा गर्दछ।

२. नेपालका संस्कृति र परम्पराहरु ध्वस्त पार्ने पश्चिमा शक्तिहरुको डिजाईनमा ल्याईएको गुठि विधेयकभित्रको गलत उद्देश्यबाट सरकार पूर्णरुपमा पछाडि हटेको देखिंदैन। गुठि विधेयकका विरुद्धमा उठेको जनमत शिथिल हुनासाथ सो फेरि अघि बढाईन सक्ने खतरा यथावत् छ। अतः यसका विरुद्धमा चनाखो हुन पनि अभियानले सबै नेपालीहरुमा अनुरोध गर्दछ।

३. राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले संस्थाको प्रवक्तामा अभियानका केन्द्रिय सदस्य एंव पत्रकार निमकान्त पाण्डेलाई नियुक्त गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here