सल्यानमा युवाले निकाले हावाबाट बिजुली

85

सल्यान– सल्यानमा एक युवाले हावाबाट विजुली निकालेका छन्। जिल्लाको शारदा नगरपालिका ४ साँइलाकम्दका ३८वर्षीय बुद्धिराज कवरले हावाबाट विजुली निकालेका हुन्।

कवरले विगत लामो समयदेखि यसलाई परीक्षण गर्दै आइरहेका थिए। तेस्रोपटक प्रयास गर्दा हावाबाट बिजुली निकाल्न सफल भएको उनले जनाए। ‘बत्ती बाल्नको लागि ४ दिनसम्म निरन्तर मेहनत गरेपछि सफल भएको हुँ’ उनले भने। उनले घरको आँगनमा फलामको लामो डन्डीमा पुराना सिडीको पंखा बनाएका छन्।

हावाले ती पंखालाई चलाएपछि बत्ती बल्ने गरेको उनको भनाई छ। उनले भने, ‘पंखा घुम्ने ठाउँमा व्यारिङ लगायतका सामग्री राखेको छु। त्यसमा घर्षण भएर विद्युुतको ऊर्जा आउँछ।’ उनका अनुसार पंखाबाट आएको ऊर्जालाई ब्याट्रीमा जम्मा गर्न सकिन्छ।

अहिले यो पहिलो परीक्षण भएको र अब यही प्रविधिबाट ठूलो खालको ऊर्जा निकाल्न सकिने उनको भनाइ छ। धेरै हावा चल्ने ठाउँमा यसबाट विद्युुत निकाल्न सकिने उनले जनाए। परीक्षणको रुपमा बनाएको बत्ती सामान्य आफ्नै खर्चमा बनाएको उनले जनाए।

‘अब ठूलो खालको विद्युुत पनि निकाल्न सकिन्छ। त्यसका लागि खर्च पनि धेरै लाग्न सक्छ। सम्बन्धित वडा र नगरपालिकाले सहयोग गर्‍यो भने हावाबाट जताततै झिलिमिली बनाउन सकिन्छ’, उनले भने, ‘सोलारभन्दा हावाको बिजुली ८० प्रतिशतभन्दा धेरै प्रभावकारी हुन्छ’ उनले भने, ‘मैले आफ्नै दिमागबाट यो काम गरेको हुँ।’

उनले कक्षा ६ मा पढ्ने वेलामा पनि गोबरबाट रेडियो बज्ने बनाएका थिए। सल्यानको दुर्गम गाउँ निगालचुलामा हावाबाट विद्युत्त निकाल्ने योजना बनाएको उनले जनाए। हावाबाट विजुलीको लागि निगालचुला उपयुक्त ठाउँ भएको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here