बढी मोबाइल चलाउँदा विभिन्न खाले असर पर्ने

185

काठमाडौं / नयाँ जमानाको रहन सहनले केवल हाम्रो जीवनमा विभिन्न खाले असर मात्र पारेको छैन । त्यसले हाम्रो शरीरको बनावटमा पनि बदलाव ल्याइरहेको छ । पछिल्लो समयमा भएको एक नयाँ अनुसन्धान अनुसार मानिसको खप्परको पछिल्लो हिस्सामा सिङजस्तो हड्डी पलाइरहेको छ भने मानिसको पाखुराका हड्डी पनि कमजोर हुँदै गएका छन् । मानव शरीरका हड्डीमा भैरहेको यस्तो परिवर्तन अनौठो छ ।

हरेक मानिसको शरीरको ढाँचा उसको डिएनएअनुसार तयार हुन्छ । तर जीवन जिउने तरिकाको आधारमा त्यसमा परिवर्तन पनि आउँदछ । शोधकर्ताहरुले हड्डीको वायोग्राफीलाई अस्टियो वायोग्राफी भन्दछन् । त्यसमा हड्डीको ढाँचा हेरेर मान्छेको जीवनशैली पत्ता लगाउने कोसिस गरिन्छ । हड्डीको स्वरुप हेरेर मानिस कसरी हिँड्छ ? कसरी बस्छ, उठ्छ वा सुत्छ ? भन्ने कुरा पत्ता लगाउने गरिन्छ । हामीले जस्तो जीवनशैली अपनाउछौँ, शरीरले त्यस्तै आकार लिन्छ भन्ने मान्यतामा यो आधारित छ ।

साइन्टिफिक रिसर्च नामक पत्रिकामा छापिएको शोधअनुसार ४ सय जना स्मार्टफोन प्रयोगकर्ताको खप्परको हड्डीमा सिङ जस्तो भाग पलाएको पाइएको छ । १८ देखि ८६ वर्ष उमेरका मानिसमा सो अध्ययन गरिएकोमा कम उमेरका मानिसमा खप्परको सिङ झनै ठूलो भएको पाइएको हो ।

शोधकर्ताहरुले त्यस्तो सिङलाई prominent exostosis वा bone spur  भनेका छन् । स्मार्टफोनको स्क्रिनमा हेर्नका लागि टाउको अगाडि झुकाइरहने बानीका कारण खप्परमा यसरी सिङजस्तो हड्डी पलाउन थालेको शोधकर्ताको निष्कर्ष छ । साथै मोबाइल बढी चलाउने मानिसको शरीरको उठबसको शैली अर्थात् पोस्चरमा हुने गडबडीका कारण पनि त्यस्तो भएको हो ।अष्ट्रेलियाको सनसाइनकोस्ट विश्वविद्यालयका शोधकर्ताका अनुसार त्यसरी पलाएको हड्डीको आकार १० देखि ३१ मिलिमिटरसम्म छ । कतिपयको खप्परमा त बाहिरबाटै देखिने गरी चुच्चो निस्केको पाइयो । खप्पर वा अन्य भागमा पलाउने त्यस्ता हड्डीहरुमध्ये अधिकांस नदुख्ने वा उपचार पनि आवश्यक नहुने खालका भएपनि आकार बढ्दै गएमा समस्या सिर्जना गर्नसक्ने शोधकर्ताको धारणा रहेको छ ।

यसअघि सन् २०११ मा क्यानडामा भएको एक अध्ययनले मोबाइल बढी चलाउने मानिसमा गर्धन दुख्ने समस्या उत्पन्न हुने गरेको देखाएको थियो । हाडजोर्डी विज्ञका अनुसार स्मार्टफोनको स्क्रिनमा बढी झुण्डिने मानिसमा ढाड कुप्रिने समस्या देखिने गरेको छ र बालबालिकाहरु यसको बढी असरमा पर्ने गरेका छन् । स्मार्टफोन तथा ट्याब्लेटजस्ता प्रविधिको अत्यधिक प्रयोगबाट मानिसको शरीरको संरचनामै असर पर्ने प्रमाण पछिल्लो तथ्यले पुष्टि गरेको छ । विज्ञहरुका अनुसार काखमा ल्यापटप राखेर चलाउँदा ल्यापटप मुनि सिरानी राखेर केही अग्लो बनाउने तथा फोन तथा ट्याब्लेट समाएको हातलाई अलिक माथि उठाएर हेर्नाले कुप्रिने समस्या कम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here