बन्दको विकल्प खोज्न जनताको सुझाव

99

काठमाडौं / विप्लव नेतृत्वको नेकपाले सरकारबाट आफ्ना नेता कार्यकर्ताको हत्या गरिएको तथा गिरफ्तारी र दमन गरिएको भन्दै हत्या र दमनको विरोधमा पछिल्ला केही समय यता बन्दका कार्यक्रम आयोजना गर्दै आएको छ । यही असार ५ गते आफ्ना सर्लाही इन्चार्ज कुमार पौडेललाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरी दोहोरो भिडन्तको झुठो प्रचार गरेको भन्दै उक्त पार्टीले गत मंगलबार मात्र नेपाल बन्दको आह्वान गरेको थियो ।

बन्दको प्रभाव देश भरिनै देखियो । अघिल्लो पटकको तुलनामा यसपटकको बन्दमा हिंसात्मक घटना पनि कम भए । बन्द सफल गराउन सहयोग गरेको भन्दै नेकपाका महासचिव विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् । यस अर्थमा असार १० गते मंगलबारको नेपाल बन्द प्रभावकारी रूपमा सफल भएको निष्कर्षमा नेकपा पुगेको रहेछ भन्ने बुझ्न सकिन्छ । तथापि क्रान्तिकारी राजनीतिक परिवर्तनको लक्ष्यसहित अघी बढेको दलले आम जनतालाई असर पर्ने गरी आयोजना गर्ने यस किसिमका बन्द हड्तालबाट के उपलब्धि हासिल भए भन्ने बारेमा व्यापक जन गुनासाहरू पनि आउने गरेका छन् । नेकपाले आयोजना गरेका बन्दहरू अभूतपूर्व सफल पनि भए, तर त्यसको प्रभाव सत्ता पक्षमा परेको देखिदैन । जबकि सत्ताका तर्फबाट भइरहेका दमन,धरपकड र हत्याकाण्ड समेतका विरुद्धमा नै नेपाल बन्द लक्षित थियो ।

नेकपाले उठाएका सामाजिक रूपान्तरण, आर्थिक रूपान्तरणका एजेण्डाहरू न्यायोचित छन् । समसामयिक र प्रासंगिक पनि छन् । यी एजेण्डा आज सत्ता पक्षमा रहेकाहरू आफैले पनि उठान गरेका विषय भएकाले सत्तापक्षले सुन्नै पर्ने एजेण्डा हुन् । यसमा कुनै विवाद छैन । तर सत्ता पक्षले यस्ता एजेण्डा सुन्ने भन्दा पनि उल्टै दमन र हत्यामा उत्रने उसको मानसिकतालाई आधार तयार गर्ने काम बन्दका कार्यक्रमबाट भएको देखिन्छ ।

नेकपाले आयोजना गरेको बन्दका कारण आफै भित्र पनि क्षति भएको छ, त्यसले सर्वसाधारणमा पनि ठूलो क्षति पुगेको छ । विद्यार्थीहरूको पठन पाठन अवरुद्ध भएको छ , विद्यार्थीले चित्त दुखाएका छन्, अविभावकले चित्त दुखाएका छन्, उद्योगहर बन्द हुँदा उद्योगीहरूले चित्त दुखाएका छन् । मजदुरहरूको रोजीरोटी बन्द हुँदा उनीहरू पनि दुःखी भएका छन् । बन्दका कारण सरकार झन कठोर बन्ने र सर्वसाधारणमा पनि दुःख सास्ती बढ्नुका साथै नकारात्मक सन्देश समेत जानुले बन्द उपलब्धिमुलुक भन्दा पनि प्रत्यूत्पादक हुँदै गइरहेको पुष्टि हुन्छ । जुन उद्देश्य प्राप्तिका लागि बन्द आयोजना गरिएको थियो, त्यो प्राप्त भएको देखिदैन । त्यसैले बन्दको विकल्प के हो भनेर सोच्नुपर्ने सुझाव जनस्तरबाट आइरहेको अवस्थातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण जरुरी देखिन्छ । जुन राजनीतिक मिसनका साथ अघी बढिएको छ, त्यो मिसन प्राप्त गर्न बन्द बाहेक तमाम विकल्पहरू अपनाउन सकिन्छ । बन्दका आयोजनाले सडकमा सुरक्षाकर्मीको चहलपहल बढाएको देखिन्छ, यता बन्द आयोजकले सुरक्षाकर्मीहरूसंग आफ्नो कुनै मुठभेड नहुने दाबी पनि गरिरहेको पाइन्छ । त्यसोभए आम जनतालाई असर नपर्ने गरी बन्द बाहेक अरु कार्यक्रम गर्दा जनतामा पनि विश्वासको वातावरण सृजना हुनसक्छ ।

जनताको मन जित्नका लागि बन्दको विकल्प भ्रष्ट, दलाल र गुन्डागर्दीको अन्त्यका लागि चालिने कदम महत्वपूर्ण हुन सक्छन् । किनभने सत्ताको बलमा समाजलाई गलत बाटोतर्फ धकेल्नेहरूलाई बन्द हड्तालले कुनै असर पार्दैन । उनीहरू जहिले पनि उच्च सुरक्षा घेराभित्र रहेर आफ्ना गतिविधि सञ्चालन गरिरहेका हुन्छन् । त्यसैले विप्लव नेतृत्वको नेकपाले ध्यान बरु त्यस्ता गतिविधि नियन्त्रणतर्फ दिनु वान्छनिय हुने आम जनसाधरणको सुझाव देखिन्छ ।

नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा पनि देश र जनताका विरुद्ध लागिरहेका शक्तिसँग बदला लिने उद्घोष गरिएको छ । विज्ञप्तिमा उहाँले राज्य आतंक, जनदमन र राष्ट्रघात विरुद्ध सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई एकतावद्ध भएर संघर्षमा अघी बढ्न पनि आह्वान गर्नुभएको छ । उहाँको यस्तो आह्वान र उद्घोषले सत्ताको आडमा जनताको रगत र पसिना चुस्नेहरूमा अवश्य पनि खैला बैला गरउनु पर्ने हो, तर त्यस्तो अवस्था पनि देखिदैन ।

नेपालमा लामो समयदेखि व्याप्त सामन्तवादको अन्त्य भएको भनिएपनि व्यवहारमा अहिले नवसामन्तवादी प्रवृत्ति झन मौलाउँदै गइरहेको छ । यो नेपाल र नेपालीका लागि झन ठूलो चूनौति बनिरहेको छ । यस्तो अवस्थामा सामन्तवादी चरित्रलाई सधैका लागि अन्त्य गर्न अर्काे क्रान्ति आवश्यक नै छ । तर त्यो क्रान्ति जनताले महसुस गर्ने किसिमको हुन आवश्यक देखिन्छ । जसलाई सम्बोधन गर्न विप्लव नेकपाले नयाँ जनवादी क्रान्तिको परिकल्पना गरेको छ । राजनीतिक परिवर्तनको एजेण्डालाई संस्थागत गर्ने शिलशिलामा जनताका पीर मर्कालाई पनि बुझ्न सकियो भने त्यसले दीर्घकालीन परिवर्तनको खाका कोर्न सघाउँछ । त्यसैले अहिले भइरहेका बन्द हड्तालको साटो नेकपाले जनताको अधिकारलाई सुनिश्चित गर्ने गरी गलत प्रवृत्तिका विरुद्ध धावा बोल्न आवश्यक देखिन्छ । यसले नै क्रान्तिको नयाँ दिशा तय गर्ने बाटोमा सफलताको खुड्कीलो चढ्न पनि सघाउने छ । -जनधारणा साप्ताहिक

यस्तो छ विप्लवले नेपाल बन्द सफल बनाउन सहयोग गर्ने आम जनसमुदायप्रति आभार व्यक्त गर्दै जारी गरेको प्रेस वक्तव्य :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here