मोदीले गरिदिए तीन ठूला पत्रिकाले पाउने विज्ञापन बन्द

91

एजेन्सी– भारतको केन्द्रीय सरकारले देशका कम्तिमा पनि तीन ठूला पत्रिकालाई सरकारी विज्ञापन दिन बन्द गरेको तथ्य बाहिरिएको छ ।

प्रतिपक्षी दल कांग्रेसका एक नेताले सरकारका कामकारबाही बारे आलोचनात्मक रिपोटिङ गरे बापत विज्ञापन रोकिएको आरोप लगाएका छन् ।

आलोचकले सन् २०१४ मा नरेन्द्र मोदीको सरकार गठन भएदेखि नै भारतको मिडिया स्वतन्त्रता खतरामा परेको आरोप जनाउँदै आएको सन्दर्भमा यो कुरा सार्वजनिक भएको हो ।

भारतको प्रमुख विपक्षी दल कंग्रेसका नेता अधीर रन्जन चौधरीले यो हप्ता संसदमा बोल्ने क्रममा सरकारले भारतका तीन ठूला पत्रिकालाई झुकाउन खोजेको आरोप लगाए ।

‘सरकारी विज्ञापन रोक्नेजस्तो अलोकतान्त्रिक र अंहकारी व्यवहार देखाएर यो सरकारले मिडियाप्रतिको आफ्नो मानसिकता देखाएको छ ,’ रन्जनले संसदमा बोल्ने क्रममा भने ।

ती तीन ठूला पत्रिकाका संयुक्त पाठक मासिक लगभग २।६ करोड छन् । मोदीको दोस्रो पटक सत्तामा आउनु अघि नै ती पत्रिकालाई दिइदै आएको करोडौं रकमको विज्ञापन बन्द गरिदिएको स्रोतले जनाएको छ ।

कुन–कुन पत्रिकाको विज्ञापन बन्द भयो ?

भारतको सबैभन्दा ठूलो अंग्रेजी पत्रिका ‘टाइम्स अफ इण्डिया’मा काम गर्ने एक जना अधिकारीले नाम नछाप्ने सर्तमा आफूहरुलाई दिइँदै आएको सरकारी विज्ञापन बन्द भएको ‘द वायर’लाई जनाए ।

विज्ञापन बन्द हुने कारणबारे उनले भने ,‘हाम्रोमा आएको कुनै रिपोर्ट तिनलाई मन नपरेको हुन सक्छ, त्यही कारणले विज्ञापन बन्द भयो । ’

मोदी सरकारलाई राष्ट्रिय सुरक्षादेखि लिएर बेरोजगारीसम्म मुद्दामा जवादेहिता माग गर्ने एबीपी ग्रुपको ‘द टेलिग्राफ’ पत्रिकाको सरकारी विज्ञापनमा पनि कटौती आएको छ । यो विगत ६ महिनादेखि भइरहेको एबीपी ग्रुपका दुई अधिकारीले ‘द वायर’लाई जनाएका छन् ।

त्यस्तै अर्को अंग्रेजी पत्रिका ‘द हिन्दू’ले प्राप्त गरिरहेको सरकारी विज्ञापनमा पनि कटौती भएको छ । कम्पनीका एक अधिकारीले जनाए अनुसार फ्रान्सबाट राफेल जेट किन्दा भएको अनियमितताबारे लेखेदेखि ‘द हिन्दू’को विज्ञापनमा कटौती भएको हो ।

तथापि भाजपा प्रवक्ता नलीन कोहलीले भारतमा प्रेस स्वतन्त्रता पूर्ण रुपमा कायम रहेको जनाएका छन् ।

उनले भने ,‘पत्रिका र टीभी च्यानलमा सत्ताधारी पार्टीको उलेख्य आलोचना हुने गरेको छ । यो आलोचना अभिव्यक्तिको स्वतन्त्रताको प्रमाण हो । यस्तोमा भाजपामाथि प्रेस स्वतन्त्रता दबाएको आरोप लगाउनु बकवास हो ।’

विश्व प्रेस स्वतन्त्रता सूचकांकमा भारत सन् २०१९ मा १८० मध्य १४०औं स्थान रह्यो । भारत अफगानिस्तान, म्यानमार र फिलिपिन्सजस्ता देशभन्दा पनि कम स्थानमा छ । सन् २००२मा यो सुचकाकं प्रकाशन हुन सुरु हुदाँ भारत १३९ देशमा ८० औं स्थानमा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here