पार्टी विचारधारात्मक, राजनीतिक र सांगठनिक क्षेत्रमा दुई पाइलट अगाडि बढेको छ

130

– हुकुमबहादुर सिंह

नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको पाँचौ बैठक यही असार १२ गतेदेखि १७ सम्म काठमाडौंमा बस्यो । देशमा नामधारी कम्युनिस्ट सरकारको नेपाली जनताका बीचमा बदनामी भइरहेको समयमा भएको यो बैठकले आफूलाई देशमा एउटा बलियो विकल्पको शक्तिका रूपमा अगाडि सारेको छ । श्रमजीवी वर्ग र उत्पीडित जनसमुदायको पक्षमा बोल्ने राजनीतिक दलको अभाव भइरहेको वर्तमान समयमा नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको यो बैठकले विद्यमान संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतान्त्रिक व्यवस्थाको स्थापना नै देशको राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सुनिश्चितताको लागि वर्तमान प्रतिक्रियावादी सरकार र यसको विद्यमान सत्तामाथि जनसंघर्ष, वर्ग संघर्ष र प्रतिरोध संघर्षको आंधीबेहरी सृजना गदै धावा बोल्ने गरी सर्वहारा क्रान्तिका लागि तीन जादुगरी हतियार–पार्टी, सेना र संयुक्त मोर्चाको विकास र विस्तारमा जोड दिने निर्णय गरेको छ ।

देशमा अहिले ओली नेतृत्वको सरकारका कारण जनजीवीकाका समस्या झन जटिल बन्दै गएका छन् । महङ्गी, भ्रष्टाचार, कालो बजारी, कमिसनतन्त्र, विचौलियातन्त्र, करबृद्धि, भूमाफियातन्त्र, युवा बेरोजगारी जस्ता समस्याले नेपाली समाज निकै पीडित तथा आक्रान्त भएको छ । हरेक क्षेत्रमा भ्रष्टाचार व्याप्त छ । त्यसको छानबिन र कारबाहीमा सरकार गम्भीर छैन भन्नेमा यो बैठक एकमत देखिएको छ ।

अहिले सरकारद्वारा २०७६/०७७ का लागि रु १५ खर्ब ३२ अर्ब ३२ करोडको बजेट पेश गरिएको छ । यो बजेट नवउदारवाद र बजार अर्थतन्त्रको सैद्धान्तिक मान्यतामा आधारित भएर ल्याइएको छ । यसले सरकारले व्यापक रूपमा भन्दै आएको समाजवाद होइन साम्राज्यवादको सेवा गर्दछ किनभने यो बजेटले स्वाधीन तथा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दैन, यसले त दलाल तथा नोकरशाही पुँजीवादको विकासमा मलजल गर्ने काम गर्दछ । त्यसैले यो बैठकले स्पष्टसित नेपालमा बलियो हुँदै गएको दलाल तथा नोकरशाही पुँजीवादी संसदीय व्यवस्थालाई ध्वशं गरी नेपालमा नेपाली जनताको शासन सत्ता स्थापना गर्नेमा यो बैठकले आफ्नो ध्यान केन्द्रीत गर्ने निर्णय गरेको छ ।

पार्टीको विगतका केन्द्रीय समितिहरूका बैठकहरूले गरेका निर्णयहरूको कार्यान्वयनको मूल्यांकन गर्दै पार्टीले गर्ने कामहरूलाई सैद्धान्तिक तथा राजनीतिक काम, संगठनसम्बन्धी काम, संघर्ष तथा जनपरिचालनसम्बन्धी काम, कार्यगत एकता, पार्टी एकता आदि विषयहरूबारे गहन तथा गम्भीर छलफल गरेको छ ।

नेपाली कम्युनिस्ट नेता तथा कार्यकर्ताहरूमा देखिएको अध्ययनमा अरुची, सैद्धान्तिक तथा राजनीतिक स्तर उठाउने काममा आवश्यक गम्भीरताको अभाव देखिएको छ । यो बैठकले पार्टीभित्र निर्णयहरूको आत्मसातीकरण र बुझाइमा एकरूपताको अभाव र पार्टीभित्र मौलाउँदै गएको निम्न पुँजीवादी चिन्तन तथा प्रवृत्तिजस्ता विचारधारात्मक तथा राजनीतिक समस्याको निक्र्यौल गरेको छ । पार्टीभित्रका माथि उल्लेखित सैद्धान्तिक तथा राजनीतिक समस्याबाट उत्पन्न संगठनात्मक समस्याहरूले नेपाली कम्युनिस्टहरूलाई डबल नेकपाको अवस्थामा लैजाने सम्भावनालाई चिर्दै अगाडि बढने अठोट लिएको छ । पार्टी नेतृत्व तथा कार्यकर्तामा क्रियाशीलता, पहलकदमी, सिर्जनशीलता र सांगठनिक क्षमतको विकास गर्नेमा जोड दिएको छ ।

एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि सत्ता नै केन्द्रीय प्रश्न हो । यो प्रश्नबाट पार्टी एक पल पनि आफूलाई अलग गर्न सक्दैन भन्नेमा यो केन्द्रीय समिति स्पष्ट देखिएको छ । क्रान्तिका लागि वर्गसंघर्ष र प्रतिरोध संघर्ष एकअर्काका पुरक हुन र पार्टीले प्रदेश जिल्ला र स्थानीय तहमा विद्यमान जनताका समस्यालाई पहिचान गर्ने बुझ्ने र त्यसका आधारमा संघर्षलाई संगठित तथा विकसित तुल्याउने काममा आवश्यक पहल र सृजनशीलताको विकास गर्ने निर्णय गरेको छ ।

पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा नयाँ जनवादी क्रान्तिको पक्षमा जनमत तयार पार्न र वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था एवंम दक्षिणपन्थी संशोधनवादको विरोध तथा भण्डाफोर गर्ने निर्णय गरेको छ । पार्टीमा महामन्त्री क.मोहन वैद्य ‘किरण’को अध्यक्षतामा बसेको यो बैठकले केन्द्रीय रूपमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासित सम्बन्धित समस्या र प्रादेशिक रूपमा जनसरोकारसित सम्बन्धित समस्यालाई लिई संघर्ष उठाउने र जिल्ला तहमा वर्गसंघर्ष र प्रतिरोध संघर्षलाई परिचालित गर्ने निर्णय पनि गरेको छ ।

यसरी एक वर्षअघि पार्टीको केन्द्रीय समितिको चितवन बैठकले संगठन–संगठन र फेरि पनि संगठन भन्ने पार्टीको नारा ठहर गरेकोमा त्यसको ६ महिनापछि बुटवलमा बसेको चौथो केन्द्रीय समितिको बैठकले संगठन–संघर्ष–संगठन भन्ने नारा तय गरेको थियो भने अहिलेको यो पाँचौ बैठकले संघर्ष–संगठन–संघर्ष मूलतः संघर्षमा जोड दिएको छ र संघर्षको रूप जनसंघर्ष वर्ग संघर्ष र प्रतिरोध संघर्ष किटान गरेर पार्टीको संगठनात्मक क्षमतामा आएको विकास र पार्टीको संघर्षबारेको उद्घोषलाई जनताको एजेण्डा स्थापित गर्ने महान घोषणाका साथ पार्टीको यो पाचौ केन्द्रीय समितिको वैठक सफलतापूर्वक सम्पन्न गरेको मात्रै छैन पार्टी विचारधारात्मक राजनीतिक र सांगठनिक क्षेत्रमा दुई पाइला अगाडि बढेको छ भन्ने सन्देश दिएको छ । [email protected] -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here